प्रदेश देखि संघिय सरकार सम्ममा सहभागी उपेन्द्र यादवद्धारा संविधान पुनर्लेखनको माग – Madhesh Update

प्रदेश देखि संघिय सरकार सम्ममा सहभागी उपेन्द्र यादवद्धारा संविधान पुनर्लेखनको माग

   March 21, 2022  

मधेश प्रदेशमा आफनै नेतृत्वमा सरकार चलाईरहेको र संघिय सरकारमा समेत अर्थपुर्ण सहभागीता जनाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको बताएका छन् । सरकारमा रह्दा मुद्धालाइ खासै प्राथमिकतामा नराख्ने आरोप खेपीरहेका यादवले एमाले अध्यक्ष केपी ओलीको सरकारमा पनि १८ महिना आफै सहभागी भएका थिए । सरकारमा उपप्रधानमन्त्री रह्दा उनले ३ असोजमा विरोध समेत नगर्न नदिए पछि पार्टीमा असन्तुष्टि नै पैदा भएको थियो ।
तर सोमवार वीरगञ्जका नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै यादवले संघीय गणतन्त्रमा सबैलाई समान अधिकार, अवसर, पहिचान र स्वाभिमान र सम्मानको ग्यारेन्टी हुनुपर्ने माग गरे । जनसंख्याको आधारमा प्रतिनीधित्व सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व र भागेदारीको ग्यारेन्टी हुनुपर्न उनको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले अहिलेको निर्वाचन प्राणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने समेत बताए ।

‘राजनीति विकृतिले भरिएको छ । निर्वाचन प्रणाली महँगो भइरहेको छ’, उनले भने, ‘धेरैलाई चुनाव लड्ने हिम्मत पनि हुँदैन । ब्रिटिश संसदीय प्रणालीको नक्कल गरे पनि सही ढंगले नक्कल हुन सकेको छैन । यो निर्वाचन प्राणालीलाई बदल्नुपर्छ । यो प्रणालीले कहिल्यै राजनीतिक स्थिरता ल्याउँदैन । जबसम्म राजनैतिक स्थिरता हुँदैन, आर्थिक विकास समृद्धिको गति लिन सक्दैन ।’

अहिलेको चुनावको प्रणाली फेरेर पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्नु पर्ने उनको प्रस्ताव छ ।

न्युनतम साझा कार्यक्रम कार्यान्वयनमा कांग्रेसले चासो नदिएको आरोप

सरकारका न्युनतम साझा कार्यक्रम कार्यान्वयनमा कांग्रेसले चासो नदिएको भन्दै अध्यक्ष यादवले असन्तुष्टी जनाएका छन् ।

‘न्युनतम साझा कार्यक्रममा नागरिकताको समस्या, संविधान संसोधन, समावेशीकरण, संघीय प्रणालीको कार्यान्वयनलगायतका विविध विषय समेटिए पनि दुःखका साथ भन्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वको सरकारले साझा नीति तथा कार्यक्रमलाई देखेर पनि नदेखेको जस्तै गरेको छ’, उनले भने ।

अहिलेको सरकार साझा नीति तथा कार्यक्रमको जगमा बनेको भन्दै उनले कांग्रेसले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

वीरगञ्जका नेता राजेशमान सिंह जसपामा प्रवेश

वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् ।

सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए । तर एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए ।
यो पनि पढ्नुहोस

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।