मधेशमा म्यादी प्रहरीमा आवेदन दिनेको भीड – Madhesh Update

मधेशमा म्यादी प्रहरीमा आवेदन दिनेको भीड

   March 20, 2022  

स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको भर्नाका भर्ना खुलाइएपछि मधेशका जिल्लहरुमा प्रहरी कार्यालयमा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ। प्रहरी प्रधान कार्यालयले आह्वान गरेको म्यादी प्रहरीको भर्नाको आज पहिलो दिन हो ।

सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादीको दरबन्दी स्वीकृत भएकामा मधेसका ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको हो ।

मधेस प्रदेश सबैभन्दा बढी म्यादी खटिने जिल्लामा परको छ । मधेस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ । मधेसमा सबैभन्दा बढी धनुषामा ३ हजार ४ सय ८६ र सबैभन्दा कम पर्सामा १ हजार ८ सय १ जना भर्ना गरिनेछ । मधेस प्रदेशमा पर्साबाहेक बाँकी प्रत्येक जिल्लामा दुई हजारभन्दा माथि म्यादी खटिनेछन् ।

सबैभन्दा कम म्यादी प्रहरी खटिनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७ सय १३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ । ७७ जिल्लामध्ये बढी म्यादी खटिने जिल्ला मोरङ परको छ । मोरङमा ३ हजार ७ सय २७ र सबैभन्दा कम मुस्ताङमा २ सय ३२ जना भर्ना लिन लागिएको छ ।

म्यादीका आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएका छन् ।

मधेशमा आवेदन दिन पुग्नेहरूमध्ये अधिकांश पुरुष छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले धनुषामा कुल ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीको कोटा रहेको बताए । उनले म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै आवेदनको आधारमा भर्ना गरिने जनाए।

म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो। म्यादी भर्नाको आवेदन ६ चैतदेखि ११ गतेसम्म समय दिइएको छ। आवेदन दिएकाहरूको छनोट १५ चैतदेखि हुनेछ भने अन्तिम नतिजा २२ चैतमा प्रकाशित गरी २८ देखि प्रशिक्षण शुरु गर्नेछ।