मिथिला परिक्रमा जनकपुरधाममा, भोली अन्तरगृह परिक्रमा – Madhesh Update

मिथिला परिक्रमा जनकपुरधाममा, भोली अन्तरगृह परिक्रमा

   March 17, 2022  

मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । विहिवार जनकपुर आइपुगेका परिक्रमा शुक्रवार जनकपुरको अन्तरगृह परिक्रममा गरेर समापन हुनेछ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला बिहारी र जनकपुरधामको अग्निकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पूर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन । दुई डोलाको पछाडि हजारौंको संख्यामा साधु सन्तहरुले परिक्रमा गरेका छन् ।

प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिकस्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एकसय आठ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।

परिक्रमामा सहभागी भएकाहरु १५ दिनसम्म आफ्नो घर नफर्कने चलन रहेको छ । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १ सय ७ एवम् भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् । नेपाल र भारत दुवै मुलुकको धार्मिक साँस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर, फुलहरु तथा महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ ।

त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् । फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने परम्परा रहिआएको छ । मिथिला महात्मयमा उल्लेख भएअनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ ।

किशोरीजी डोलाका महन्थ नवलकिशोर शरणले परिक्रमा पारिवारिक कल्याणको लागि गरिने गरिएको बताए । १५ दिनसम्म साधु सन्तहरु र श्रद्धालुहरु एकै ठाउमा बसेर भजन कीर्तन गर्ने गरिएको उनले बताए । यता, जिल्ला प्रशासन कार्यालय धनुषाले फागु पूर्णिमाको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र दुई दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । फागु पूर्णिमाको पूर्वसन्ध्यामा मिथिला माध्यमिकी परिक्रमालाई ध्यान दिदैँ यस्तो निर्देशन दिइएको हो ।

बिहीबार परिक्रमामा सहभागी जनकपुरधाममा भगवान श्रीराम जानकीको डोला आएको र शुक्रवार मध्यमा परिक्रमासँगै अन्तगृह परिक्रमा घुम्ने भएकोले त्यसलाई दृष्टिगत गर्दै प्रशासनले माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जनकपुरमा परिक्रममा सहभागी साधुसन्तका लागी विभिन्न दाताहरु भोजन सहितको व्यवस्था ठाउ ठाउमा गरेको छ ।