जनकपुर-जयनगर रेल सञ्चालन अझै अन्योलमा – Madhesh Update

जनकपुर-जयनगर रेल सञ्चालन अझै अन्योलमा

   March 17, 2022  

जयनगर-जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ।

रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित नभएर निष्क्रिय बनेपछि उद्घाटन अन्योलमा परेको हो।

“अध्यादेश निष्क्रिय भएपछि रेल सेवा उद्घाटन र सञ्चालन गर्न कठिनाइ भएको छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले भने, “प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएसँगै निष्क्रिय बनेको अध्यादेश पुनःल्याएर भए पनि रेल सञ्चालन गर्ने विषयमा कुराकानी भइरहेको छ।” यद्यपि यस विषयमा ठोस् निर्णय भइनसकेको महाप्रबन्धक झाले बताए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गत १५ मंसीरमा सरकारले खरीद गरेको रेल तत्काल सञ्चालन नगर्दा रेलको इञ्जिनमा समस्या आउने र रेलको संरचनामा थप हानीनोक्सानी हुनसक्ने भन्दै तत्काल रेलसम्बन्धी कानून व्यवस्था गरी सञ्चालन गर्न कारणसहित अध्यादेश पेश गरेका थिए।

त्यसबखत संघीय संसद्को अधिवेशन नभएको र रेलसम्बन्धी कानुन व्यवस्था गर्न आवश्यक भएकाले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ गत मंसीरमा जारी भएको थियो।

सरकारले ल्याएको अध्यादेश सङ्घीय संसद्को बसेको बैठकमा ६० दिनभित्र सदनमा पेश गरिसक्ने कानुनी प्रावधान रहेको छ। प्रतिपक्षी दलको निरन्तरको अवरोधका कारण सरकारले रेलसम्बन्धी अध्यादेश संसद्मा प्रस्तुत गर्न नसक्दा स्वतः निष्क्रिय भएको हो।

१ फागुन देखि दैनिक नियमित रुपमा एक चोटीमा अभ्यास चलानको रुपमा जयनगरवाट कुर्था सम्म आउने गरेको रेल १ चैत देखि एक दिन विराएर मात्रै आउने गरेको छ ।