भ्रष्टाचारको आरोपमा सिरहाको राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक राजपुर गाविसका कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार सिरहाको साविक राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको । उनीहरुले आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाइको तालिमका लागि लिएको पेश्की, दलित दलान निर्माणको बिलभन्दा बढी भुक्तानी गरेको अध्ययनबाट खुलेको छ । यसैगरी विद्युत् पोल खरिदमा बिलबमोजिमको सामग्री प्राप्त नभई भुक्तानी गरेको, अर्को गाविसको सामाजिक सुरक्षा भत्तासमेत दुरुपयोग गरेको पाइएको छ ।
विवरणअनुसार सामाजिक सुरक्षा भत्ताको आव २०७२/०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै बिल नराखी खरिद आदेश दिएको, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरुमा २४ लाख ९२ हजार ५१० हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार अन्य सामग्री खरिदमा दुई लाख ६७ हजार २६ र नक्कली बिल पेश गरी दुई लाख ६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
यसैगरी साविक राजापुर गाविसका खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाहविरुद्ध दुई लाख ६७ हजार २६, कल्याणपुर नगरपालिका सिरहाका अधिकृत (छैठौँ) शिवजी कामतीविरुद्ध दुई लाख ८१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले घिमिरे मात्रैले १९ लाख ८४ लाख ८७५, कामतीविरुद्ध दुई लाख ८१ हजार बराबरको हिनामिना गरेको देखिएको छ ।