धनुुषाको धनुषाधाममा चिडियाखाना बनाइने
वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका छन् । शुक्रबार बिहान धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए ।
धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए । वनस्पति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।
अहिले रहेको वनस्पति अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्दै वनस्पति सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको मन्त्री यादवले बताए ।
‘वनस्पति उद्यान केन्द्रमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वनस्पति, बिरुवाहरूलाई संरक्षण गर्दै आएको छ’ मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छ ।’
वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रुपमा विकास गर्न सकिने मन्त्री यादवले बताए ।