रौतहट कटहरियाका मेयर कुश्वाहाद्वारा ५४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान – Madhesh Update

रौतहट कटहरियाका मेयर कुश्वाहाद्वारा ५४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

   March 9, 2022  

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले एक कार्यक्रमको आयोजना गरी नगरभरिका महिला स्वास्थ स्वयंसेविकालाई सम्मान गरेका छन् । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मेयर कुश्वाहाले कटहरिया नगरपालिका अन्तर्गत कार्यरत ५४ जना महिला स्वास्थ स्वयंसेविकालाई सम्मान गरेका हुन्।

कटहरिया नगरपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रमका बीच ५४ जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा मेयर सियाराम कुश्वाहा र प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले संयुक्तरूपमा सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान स्वरूप दोसल्ला ओढाएर जनही एकएक थान नोकिया कम्पनीको मोबाइल, एकएक थान एभेरेडी कम्पनीको २ सेलको टर्च लाइट र छाता प्रदान गरेका थिए ।

स्वास्थ स्वयंसेविकालाई जनही २ हजार ५ सय बराबरको सामानहरू प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।

सो अवसरमा मेयर सियाराम कुश्वाहाले महिला स्वास्थ स्वयंसेविकाहरुको योगदानले समाज परिवर्तन भइरहेकाले उच्च कदर सहित सम्मान गरिएको बताए ।

कार्यक्रममा कटहरिया नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष नबद राय यादव, हरिभजन साह, राजकुमार साह, युवा नेता हेमप्रसाद साह ,कटहरिया नगरपालिकाका योजना शाखा प्रमुख रामनरेश यादव, जिनसी प्रमुख छोटेलाल मिश्र लगायतका वक्ताहरूले समाज परिवर्तनमा पुरुषको बराबर महिलाहरुको पनि योगदान रहेको भन्दै प्रशंसा गरेका थिए ।