मधेशका गाउमा शिक्षाको उज्यालो छर्दै पार्वतीकुमारी राम – Madhesh Update

मधेशका गाउमा शिक्षाको उज्यालो छर्दै पार्वतीकुमारी राम

   March 7, 2022  

पार्वतीकुमारी रामलाई समाजले राम, मोची, हरिजन, रविदास, रैदास, महरा, दलित अनेक नामले पुकार्छ । ति नाममा अलिकति हेपाई मिसिएको हुन्छ । तर पार्वती स्वाभिमानले आफ्नो शिर ठाडो बनाएर हिडन सक्नुहुन्छ समाजका अगाडि । त्यसो गर्न सक्नुको एक मात्र कारण हो पार्वतीले पाएको शिक्षा र सिकाई ।

शिक्षाका मामिलामा मधेशी दलितहरू समग्र नेपालीमा सबैभन्दा पछाडि छन् । उनीहरूको साक्षरता दर ४२.८ प्रतिशत छ । पढनका लागि स्कुल छिर्ने कै हिसाब गर्ने हो भने सबैभन्दा पछाडि छन् मधेशी दलितहरू । एक सयजना मधेशी दलितमा ४८ जनाभन्दा थोरै बढी मात्र स्कुल भर्ना हुन्छन् जबकी यो दर पहाडी बाहुन र नेवारमा ९६ प्रतिशत छ । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रको केन्द्रिय विभागले सन् २०१८ मा गरेको नेपाल सामाजिक समावेशी सर्वेक्षणकै तथ्याङ्क अनुसार कक्षा आठसम्मको आधारभूत शिक्षा पूरा गर्नेमा पनि सबैभन्दा पछाडि अर्थात १७.६ प्रतिशत मात्र छन् मधेशी दलित । यस्ता तथ्याङ्क केलाउन थाल्ने हो भने सबैभन्दा पुछारमा हुन्छन् मधेशी दलित ।

तिनै मधेशी दलित मध्येकी हुनुहुन्छ धनुषाको नगराइन नगरपालिका बिर्ता टोलकी पार्वतीकुमारी राम । गरिबीले श्रीमान्लाई काम गर्न मलेसिया पु¥याएको छ । विदेशिदा श्रीमान्को एउटा शर्त थियो पार्वतीले पढने ।
पार्वतीकुमारी भन्नुहुन्छ, “१२ पढेपछि मेरो विवाह भयो । श्रीमान् पनि एकदमै राम्रो हुनुहुन्छ । पढ्न प्रोत्साहित गर्नु हुन्छ । म त ब्याचलरमा एडमिसन नलिने पक्षमा थिए तर श्रीमान्ले नै तिमी अगाडि पढ । पढेर अगाडी बढन सकिन्छ भन्नुभयो । केही काम गर्न सकिन्छ भन्नुभयो । त्यसैले पढ्दैछु।”

हो पावर्तीकुमारी राम पढ्दै हुनुहुन्छ अनि आफ्नो गाउँमा बसेर आफूजस्तै पाखा पारिएका बालबालिकालाई शिक्षाको उज्ज्यालो दिएर अगाडी बढाउँदै हुनुहुन्छ । आसमान नेपालको निक शिक्षा दिअ परियोजना अन्तरगत नगराइनमा ठूली दिदीको पदमा कार्यरत पार्वतीकुमारी राम हिडन नसक्ने अमृताकुमारी रामजस्ता बालिकालाई घरमा नै पुगेर पढाउनु हुन्छ ।

आसमान नेपालको निक शिक्षा दिअ परियोजनाले आफ्नो कार्यक्षेत्रभीत्र स्कुल बाहिर रहेका यस्ता अपाङ्कता भएकी बालबालिकालाई पार्वतीजस्ता आफ्ना सहकर्मीहरू मार्फत क्षमता बढाउँदै स्कुलसम्म पु¥याउँछ । र, स्कुलमै पढने वातावरण बनाउँछ ।

तर अहिले कोभिड १९ को महामारीका कारण स्कुल बन्द भएका बेलामा भने उनीहरू सिकाइबाट टाढा नहुन भनेर घरमा नै दैनिक पढने व्यवस्था गरेको हो । हाम्रो चेतनाको स्तर र सामाजिक परिवेशका कारण पार्वतीलाई पढन त्यति सजिलो थिएन। बालिकाहरूलाई अझै पनि पढनका लागि अनेकन अवरोध छन् । पार्वतीकुमारी भन्नुहुन्छ, ” अरुको घरको वातावारण हेर्छु अर्काको घरको नासो छोरीलाई पढाएर के गर्ने भनेको पनि सुन्छु । तर मेरो घरका मेरा दाईहरू सबै शिक्षित हुनुहुन्छ।हाम्रो ठूलो दाईको अडानले नै हामी सबैले पढेको हो। बुबाआमाले त गाउँलेका कुरा सुन्नु भएको थियो तर ठूलो दाईले एउटा बहिनी छ यसलाई पढाउनु पर्छ अनि केही गर्न सक्छे भनेर पढाउनु भयो ।”

दलित त्यसमाथि महिला। घरबाहिर मजदुर गर्दा कसैले केही भन्दैन तर पढनेपढाउनेलगायतका जागिर खाने कुरा भयो भने प्रलय नै हुन्छ । सबै विरोधमा उत्रिन्छन् । ठूला जातका मात्र होइन आफ्नैहरू पनि विरोध गर्न थाल्छन्। तर पार्वतीकुमारी रामले त्यस्ता कुरा पचाइसक्नु भएको छ ।

पार्वतीकुमारी भन्नुहुन्छ, ” कुरा काटनेहरूले त काटिराख्छन् नि । मेरै दिदीकी सासुले पनि सर्भिसिङ गर्न जान्छे भनेर खुब कुरा काटिन। तर आफूले काम राम्रो गर्न प¥यो, चरित्र राम्रो हुन प¥यो, अनि न अरूले पनि आफ्ना छोरीबुहारीहरूलाई बाहिर आउन दिन्छन, काम गर्न दिन्छन् ।

यही सकारात्मक सोंचले त पार्वतीकुमारी अझ अगाडी बढ्नु भएको छ र आफूसँगै धेरै अमृताहरूको जीवनमा उज्यालो छर्दैहुनुहुन्छ ।

(श्रोत: INS NEWS-स्वतन्त्र समाचार)