गण्डकीका मुख्यमन्त्रीको मधेश प्रदेशमा, अन्तर प्रदेश धार्मिक र पर्यटकीय सम्बन्ध जोडिने प्रयास – Madhesh Update

गण्डकीका मुख्यमन्त्रीको मधेश प्रदेशमा, अन्तर प्रदेश धार्मिक र पर्यटकीय सम्बन्ध जोडिने प्रयास

   March 6, 2022  

संघीयता सुदृढ पार्न संघ सरकार बाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधिकार प्राप्तिका लागि प्रदेश सरकारहरु एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन्।

मधेश र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा जनकपुरमा भएको छलफलमा बोल्दै दुबै मुख्यमन्त्रीले संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेकाले आगामी दिनमा प्रदेशहरूबीचको सहकार्य अझ घनिभूत बनाई प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु आवश्यक रहेको बताए।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजस्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरु पूरा हुने अवस्था नरहेको बताए। उनले भने, ”नेपाल सरकारले अझ पनि केन्द्रीय कार्यालयहरु हटाएको छैन । कर्मचारी समायोजनमा पर्याप्त भूमिका खेलेको छैन । शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार दिएको छैन। जसले गर्दा प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा छैन।”

ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या रहेको, विकास निर्माणमा वाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान नदिएको भन्दै यसका लागि प्रदेशहरुले एक भएर आवाज उठाउनुपर्ने भनाइ उनले राखे।

गण्डकी प्रदेशमा आएका पर्यटकलाई मधेश प्रदेश र मधेश प्रदेशमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने उनको भनाइ थियो।

उनले भने, ”जल पर्यटन, कृषि पर्यटन, शिक्षा र स्वास्थ्य पर्यटनमा पनि सहकार्य गर्न सकिन्छ।”

आपसी हितका बृहत परियोजनाहरु जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोडने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए। अन्तरप्रदेश सद्भावना भ्रमणले दुई प्रदेशका बीच सहयोगको आदान प्रदान र भातृत्व भोलिका दिनमा झन् बढेर जाने विश्वास उनले व्यक्त गरे।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले गण्डकीका असल अभ्यासको अनुकरण आफूहरुले गर्ने प्रतिबद्धता जनाए। प्रदेश सरकारहरुले सामूहिक रुपमा एजेन्डा बनाएर आवाज राखेको खण्डमा संघीय सरकार त्यसलाई सम्बोधन गर्न बाध्य हुने भनाइ राखे।

संविधानले ग्यारेन्टी गरेका अधिकारलाई रोक्ने ताकत कसैसँग नरहेको भन्दै उनले यसको प्राप्तिको लागि आफूहरु लागि पर्ने बताए। पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेस सरकार तयार रहेको मुख्यमन्त्री रावतले बताए।

प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले दुई प्रदेशबीचको पर्यटकीय र धार्मिक सम्बन्ध जोड्न सरकार तयार रहेको बताए। उक्त अवसरमा गण्डकी प्रदेश पर्यटन, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल र मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विन्दुकुमारी मिश्रले तत्तत् प्रदेशमा पर्यटनको सम्भावनाका बारेमा प्रस्तुति राखेका थिए।