१ सय ३३ किलोमिटर लामो ‘मिथिला परिक्रमा’ शुरु – Madhesh Update

१ सय ३३ किलोमिटर लामो ‘मिथिला परिक्रमा’ शुरु

   March 3, 2022  

१ सय ३३ किलोमिटर पदयात्राको यस परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरू सहभागी हुने गरेका छन्

मिथिलाञ्चलको बहुचर्चित साँस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रूपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत शुरु भएको छ। मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रूपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

यो परिक्रमामा द्धापरयुगमा रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो कस्दाको इतिहास पवित्र मिथिलाधाम, जनक राजाको राज्य र उनको राजधानी मिथिलालगायत रामायणका धेरैजसो पक्ष अनि तीसंग सम्बन्ध राख्ने स्थान र अवयवहरूमा पुग्ने गरिन्छ । उसो मिथिलामा कार्तिक, फागुन र वैशाख गरी वर्षमा तीनपटक हुने गरेकोमा फागुनको यस परिक्रमालाई विशेष महत्वका साथ हेरिन्छ ।

१ सय ३३ किलोमिटर पदयात्राको यस परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरूको सहभागिता रहने गरेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रूपमा आजदेखि शुरु भएको हो ।

फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको छ। आज बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरू भोली शुक्रवार विहान पुजापाठ गरी भारतको विहार राज्य स्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन् ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाविहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकि परिक्रमाको विधिवत रूपमा शुरुवात हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताए ।

महाशिवरात्रीलगत्तै शुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महीना उल्लास एवं भक्तिमय हुने भएको छ।

धार्मिक झाँकी भजनकीर्तनसहित परिक्रमाको डोला शनिवार जनकपुरबाट शुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुग्नेछ।

परिक्रमामा सहभागिहरू क्रमशः फूलहरूको गीर्जास्थान हुदै महोतरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पुर्णिमाको जनकपुर फर्कने छ। मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रूपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौ सहभागिता रहने यस धार्मिक यात्रालाई व्यवसायिक रूप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मी नारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैस्णवले बताए ।

परिक्रमामा सहभागिहरूको लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागिहरूको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरू राती गाउँ भन्दा टाढा खुला चौर,बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन। स्थानीय बासिन्दाहरूले पनि सहभागिहरूका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागि गोरुका लागि पराल समेत उपलब्ध गराउने गर्दछन्। सहभागिहरू दिनभरी यात्रा गर्छन र भजनकिर्तन तथा सत्संग गरेर रात विताउछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन् ।

मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

परिक्रमाको प्रारम्भ

यस परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइँदैन, यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरूमा उल्लेख पाइन्छ। आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ। मन्दिरहरू देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरूपको रूपमा लिइन्छ।

परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ। सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ। परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटीबीच मुद्दा मामिला समेत चलेको थियो। तर विसं १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो।

हुन त मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ। मिथिला महात्म १८औँ शताब्दीमा लेखिएको मानिन्छ। यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दीभन्दा पहिले नै शुरु भएको हुन सक्ने अनुमान गरिन्छ।

मिथिला महात्म्यअनुसार १८ औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यामिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्र तय गर्ने परम्परा रहेको छ। परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागिता हुने गर्दछ।

परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताए।

प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।

गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागीता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरू उत्साहका साथ यस पर्वमा सहभागी हुने गर्दछन्।

मिथिला महात्मयमा माध्यामिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दुरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिका भित्र पर्दछ।

मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने वृहत् परिक्रमाको चर्चा गरिएको छ। भारतको पटना स्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ।

तर, यो परिक्रमा अचेल सधुसन्तको सीमित संख्याले मात्र गर्ने गरेको कुरा जानकी मन्दिर जनकपुरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए। वृहत् माध्यामिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महीनामा गर्नसक्ने वैदिक मान्यता भएपनि ती परिक्रमा फागुन महीना मै हुने परम्परा रहेको महन्थ दासले बताए।

केही दशकयता माध्यामिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका महन्त बाबा नारायण दासजीले करीब डेढ सय वर्षपूर्व समयदेखि दुईसय सम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यामिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार प्रारम्भ गर्नुभएको बताइन्छ। त्यसलाई करीब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु सहित वाजागाजा सहित परिक्रमा गरेको संस्कृतविद रामभरोस कापडी भ्रमरले बताए।

पाँच सयको सानो संख्यालाई बढाएर २० हजार पुर्‍याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवर्द्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताए।

माध्यामिकी परिक्रमामा करीब साठी वर्ष अघिदेखि मिथिला महात्मयको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमा को धार्मिकी करण गरे। उनको निधनपछि मिथिला महात्मयको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरि रहेका छन्।

मिथिलाञ्चालको सांस्कृतिक धरोहरको रूपमा रहेको परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण कार्यथालेका छन्। निर्माण कार्य अन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका देखि महोत्तरीको हरिहरपुर हरिणमरि सम्म कालोपत्रे सडक निर्माण भईसकेको छ।

यस्तो छ परिक्रमा पथ

पहिलो दिन
फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो। जनकपुरधामबाट २ किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरू भएको १ सय ६० वर्षअघि स्थापित मन्दिर छ।

दोस्रो दिन
दोश्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ। भव्य कुण्ड तथा विश्रामालय समेत रहेको कलाणेश्वर ९कलना० निकै आकर्षक एवं मनमोहक छ। भविष्यवेत्ताका रूपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा १ सय १० वर्ष बसेको ठाउँ पनि यही हो।

तेस्रो दिन
तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारत मै पर्छ। स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ। गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरू एवं कप्टहारिणी र शरसमीर पोखरीहरू भएको यो ठाउँबाट जमुनी नदी बगेको छ।

चौँथो दिन
यस दिन परिक्रमाका यात्रीहरू नेपालको मटिहानी आइपुग्छन्। महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा ८ वटा पोखरी भएको घना बस्ती हो। नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रूपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठहरू छन्।

पाँचौँ दिन
मिथिला परिक्रमाका यात्रीहरू यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन्। जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैंभरि जलमै डुबेको हुन्छ।

छैटौँ दिन
यस दिन यात्रीहरू जलेश्वरबाट मडई आइपुग्छन्। यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन्।

सातौँ दिन
सातौँ दिनको विश्रामस्थल धु्रंव कुण्ड हो। यहाँ ध्रुवजीको मन्दिर छ।

आठौँ दिन
यात्रीहरूको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ। यहाँ सीतारामको मन्दिर छ।

नवौँ दिन
यस दिनको विश्रामस्थल पर्वता हो। यहाँ हनुमानजीको विहाल मन्दिर छ। पर्वता पुग्नुपूर्व भक्तजनहरूले हरिहरपुर स्ति क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन्।

दशौँ दिन
यस दिन यात्रीहरू धनुषाधाम आइपुग्छन्। सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ। यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ। विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टी करीब ५ सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ। यहाँ माघ महीनाको प्रत्येक आइतबार मकर मेला लाग्छ।

एघारौँ दिन
यात्रीहरूको एघारौं दिनको गन्तव्य सतोषर हो। राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महीनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ।

बाह्रौँ दिन
यात्रीहरूको बार्हौ दिनको गन्तव्य औरही हो। जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेहीनजिकै रहेको औरहीमा भक्तजनहरू कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन्।

तेह्रौँ दिन
भारतको विशौल परिक्रमा यात्रीहरूको तेर्हौ दिनको गन्तव्य हो।

चौधौँ दिन
चौधौं दिन परिक्रमा यात्रीहरू करुणा भन्ने स्थानमा आइपुग्छन्। यो कलाणेश्वर नजिकै छ।

पन्ध्रौँ दिन
यस दिन परिक्रमाका यात्रीहरू जनकपुर आइपुग्छन्। यो यात्राका अन्तिम दिन हो। फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको विहानै जनकपुरको पञ्चकोसी परिक्रमा (अन्गगृह) पछि श्रद्धालुहरू जानकी मन्दिर लगायत अन्य मठ मन्दिरहरूमा दर्शन, पूजन गरी घर फर्कन्छन्।

यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ। परिक्रमा यात्रीहरूका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ।

परिक्रमामा सहभागी हजारौं यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौं श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी लगायत गैरसरकारी क्षेत्रका संस्थाहरू प्रयासरत रहेका छन्।

महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ।