धनुषाको कमला नगरपालिकामा रहेको सहकारीका अध्यक्ष माथि चोरीको आरोप

धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् ।
गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २्३ थान ल्यापटप र २ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । यद्यपि अध्यक्ष मण्डलले कार्यालयबाट १६ लाख रुपैयाँ चोरी भएको भन्दै उजुरी दिएका थिए ।
संस्थापक अध्यक्ष महतोले सहकारीको कार्यालयमा १६ लाख रुपैयाँ राख्ने के प्रयोजन थियो भन्दै प्रश्न गरे । सहकारीका संस्थापक सदस्य शोभित महतोले संस्थाको रकम अपचलन गरेर त्यसलाई ढाकछोप गर्न अध्यक्ष मण्डल र प्रबन्धक बृजेन्द्रकुमार यादवले चोरीको नाटक गरेको आरोप लगाए ।
यता उजुरीको आधारमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा मुद्दा चलाएको जनाएको छ । जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि पठाएको छ भने २ जनालाई ८०्८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । तर संस्थापक सदस्य शोभित महतोले भने प्रहरीले वास्तविक चोरलाई पक्राउ नगरेको गुनासो गरे ।
२९ लाख रुपैयाँको पुँजीबाट शुरु भएको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको पुजी १६ करोड रुपैयाँसम्म रहेको छ भने सो सहकारीमा हाल १ हजार ३ सयभन्दा बढी शेयर धनी छन् ।