लोसपाले बोलायो भोली संसदीय दलको बैठक, एमसीसीबारे औपचारिक निर्णय हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरूको बैठकले एमसीसीबारे औपचारिक निर्णय गर्नका लागि भोलि १ बजे संसदीय दलको बैठक बोलाउने तय गरेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले केहि दिनअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसीको पक्षमा उभिने जानकारी गराइसकेका छन्।
तर, लोसपा संसदीय दलले यसबारे औपचारिक निर्णय लिन बाँकी छ। बिहीबार संसद्मा एमसीसीबारे छलफल सुरू हुने भएकाले भोलि (बुधबारै) यसबारे लोसपाले औपचारिक निर्णय लिने भएको हो।
आज बसेको शीर्ष नेताहरूको बैठकमा पार्टीको आन्तरिक विषयमा पनि छलफल भएको वरिष्ठ नेता शरदसिंह भण्डारीले बताए। गत भदौमा जसपावाट अलग भएर लोसपा गठन भएको थियो। त्यसयता, अहिलेसम्म एकपटक पनि पार्टीको कार्यकारणी समिति बैठक हुन सकेको छैन।
पार्टी गठनको ६ महीनाभन्दा लामो अवधिमा पनि एउटै बैठक नगरेको भन्दै लोसपा अध्यक्ष ठाकुरको पार्टीभित्रैबाट पछिल्लो समय आलोचना हुन थालेको थियो । ठाकुरले एक्लौटी रुपमा जिल्ला र प्रदेश संयोजकहरु तोकेको भन्दै पार्टीका वरिष्ठ नेताहरु नै असन्तुष्ट हुदै पार्टी कार्यलय जान छाडेका थिए।
तर पछिल्लो समयमा ठाकुरले अनौपचारिक छलफलहरु गरेर पार्टीको कामहरु कसरी अगाडी बढाउने भन्नेबारेमा छलफल सुरु गरेका छन्। त्यहीक्रममा उनले मंगलबार पार्टीका कार्यकारणी समितिका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।