प्रदेश सरकारको चार बर्ष । मधेश सरकारले सार्वजनिक गर्यो आफनो कामको विवरण – Madhesh Update

प्रदेश सरकारको चार बर्ष । मधेश सरकारले सार्वजनिक गर्यो आफनो कामको विवरण

   February 15, 2022  

मधेश प्रदेश सरकारले चार वर्षको प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको छ । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन मुख्यमन्त्री लालबाबु राउतले चार वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले चार वर्षमा प्रदेशसभाबाट ४३ वटा कानून र प्रदेशको नामकरण तथा स्थायी राजधानी पारित गर्न सक्नु मुख्य उपलब्धि रहेको समेत बताए ।

उनले विगत चार बर्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका वैदेशिक उच्च स्तरका भ्रमणहरु सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री राउतले उपलब्धि मान्दै खुसी व्यक्त गरे ।

उनले भने, ‘यससँगै प्राप्त राजनैतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु जस्तै ‘बेटी पढाउ, बेटी बचाउ अभियान’, ‘शहिदको सम्मान’, ‘किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान’, ‘६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे’, ‘तीन वटा विश्वबिद्यालयको स्थापना’, ‘आधुनिक प्रदेश ल्याबको स्थापना लगायतका कार्यहरुको माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित’, ‘समुन्नति र सुशासनको प्रत्याभूति गर्ने’ कार्यलाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राखी कार्यसम्पादन गरिरहेको छ ।’

उनले संघीय निजामति सेवा ऐन बन्न नसकेको अवस्थामा पनि मधेस प्रदेशले प्रदेश निजामति सेवा ऐन बनाएर संघीय सरकार र बाँकी ६ वटै प्रदेश सरकारलाई निजामति सेवा ऐन बनाउन मार्गदर्शन गर्न सफल भएको बताए ।

उनले भने, ‘प्रदेश निजामति सेवा नियमावली तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रदेश मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूको संगठन संरचना तथा जनशक्तिको दरबन्दीलाई अन्तिम स्वरुप प्रदान गर्ने गरी कार्य भैरहेको छ ।’