मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेसको जनसंख्या सबैभन्दा बढी रहेको छ। २०७८ मा जनसंख्याको आकारको हिसाबले दोस्रोमा बागमती प्रदेश, तेस्रोमा लुम्बिनी प्रदेश, चौथोमा प्रदेश १, पाँचौमा सुदूरपश्चिम, छैठौंमा गण्डकी अन्तिममा कर्णाली प्रदेश छन्।
गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम्बिनी प्रदेशबाहेक सबै प्रदेशको कुल जनसंख्यामा हिस्सा घटेको देखिन्छ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ। जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत हो।
दोस्रोमा रहेको बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ अर्थात २०.८४ प्रतिशत जनसंख्या रहेको छ।
तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ अर्थात १७.५५ प्रतिशत छ।
यस्तै चौथो स्थानमा रहेको प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना अर्थात कुल जनसंख्याको १७.०३ प्रतिशत जनसंख्या रहेको छ।
पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २ सय ७० अर्थात ९.२९ प्रतिशत जनसंख्या रहेको छ।
र छैठौं स्थानमा रहेको गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७४५ अर्थात ८.४९ प्रतिशत रहेको छ।
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.१५ जना) रहेका छन्। जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो।
लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।
प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ।
दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै देखिन्छ।
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ।
२०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो।
प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग कि।मि।मा बसोवास गरेको देखिन्छ जुन २०६८ मा ५६१ रहेको थियो।
हाल सबैभन्दा कम कर्णाली प्रदेशमा ६१ जना प्रति वर्ग किमि मा बसोवास गरेको देखिन्छ ।
दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशमा बागमती र लुम्बिनी प्रदेश रहेका छन्।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना पुगेको छ।
जुन दश वर्षअघि ९२०६८ साल० को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी देखिन्छ।
अर्थात दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको छ।
विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको विभागले जनाएको छ।
विसं २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो।