मधेशमा वलिदानी दिवस -मधेस आन्दोलनका सहिद परिवारलाई ३ लाखसहित सम्मान

मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले ३/३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका सहिदहरूको सम्झनामा मधेस सरकारद्वारा बुधबार राजविराजमा आयोजित चौथौ बलिदानी दिवसुका अवसरमा सहिद परिवार र घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो ।
मधेस सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालय अन्तर्गत मधेसी सहिद प्रतिष्ठानद्वारा राजविराजमा आयोजित बलिदानी दिवस कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई ३/३ लाख रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरे ।
यस अवसरमा मधेस आन्दोलनका ५९ जना सहिदका परिवारलाई ३/३ लाख रुपैयाँका दरले प्रदान गरिएको मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । यस्तै कार्यक्रममा मधेस आन्दोलनका जीउँदो सहिद मानिने पर्साका मन्सी पटेलसहित घाइते र अंगभंग भएकाहरूलाई पनि नगदसहित सम्मान गरियो । घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको अर्थमन्त्री साहले जानकारी दिए ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको बताए । उनले मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले रोजगारको प्रबन्ध गरिरहेको भन्दै रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको बताए ।
रोजगारबाट बञ्चित रहेका सहिद परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको उनले बताए ।
५ ठाउमा सहिद पार्क बन्ने
यस्तै मधेसका सहिद र अन्य आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा मधेस प्रदेशका ५ स्थानमा प्रदेश सरकारले सहिद पार्क निर्माण गर्न लागेको मुख्यमन्त्री राउतले बताए । साथै तथ्यांका छुटेका आन्दोलनका घाइतेहरूको पनि तथ्यांक समावेश गरी उनीहरूलाई सम्मान गरिने बताए ।
बुधबार सहिदका परिवारलाई राहत वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । यस क्रममा उनले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको बताएका थिए ।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रपसद साहले प्रदेश सरकार सहिद परिवारको सम्मान र भरणपोषणका लागि तत्पर रहेको बताए । उनले मधेस आन्दोलनकै बलमा मधेस प्रदेश र मधेस सरकार बनेकाले सहिदहरूको सहादत र घाइतेहरूको योगदान बिर्सन नसकिने बताए ।