धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाइते, पाँच जना पक्राउ – Madhesh Update

धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाइते, पाँच जना पक्राउ

   January 19, 2022  

धनुषामा लुटेरा समूहको आक्रमणमा परेर बटेश्वर प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेल घाइते भएका छन्।

धनुषाका एसपी वसन्त रजौरेले धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई पोखरेललाई गएराति लुटेरा समूहले आक्रमण गरेको जानकारी दिए।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीलाई आक्रमण भएको एसपी रजौरेले बताए।

आक्रमणबाट असई पोखरेल घाइते भएका छन्। उनको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको टाउकोमा १२ ओटा टाँका लागेको छ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर बटेश्वर गाउँपालिका २ भुचक्रपुरस्थित ससुराली जाँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल लगायत सामान लुटपाट गरेका थिए।

पासमानले घटनाबारे प्रहरी चौकी बटेश्वरमा जानकारी गराएलगत्तै पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई नियन्त्रणमा लिएका थिए। लुटेराहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याउने क्रममा उनीहरुले असई पोखरेललाई पछाडिबाट हेल्मेट र लाठीले टाउकोमा प्रहार गरेका थिए।

महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली जाँदै गर्दा राम्रोचोकमा रोकेर सामान लुटपाट गरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। लुटपाट तथा आक्रमणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

पक्राउ परेका पाँच जनामध्ये मुख्य आरोपित स्थानीय रामजीवन ठाकुरका साथबाट लागुऔषध नाइट्रोभेट ट्याब्लेट तथा चक्कु बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।