अत्यधिक चिसो र हुस्सुले मधेशमा जनजीवन प्रभावित

अत्यधिक चिसो र हुस्सुका कारण मधेशका जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो।
घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा मधेशका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ। बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन्। हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ। मौसममा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी सर्लाहीले आग्रह गरेको छ।
अत्यधिक चिसोका कारण यहाँका वृद्ध, बालबालिका, गरिब विपन्न परिवारका व्यक्ति बढी प्रभावित भएका छन्। चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर पनि समस्यामा परेका छन् ।
चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ। चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन, घरभित्रै बस्नुपर्ने, सावधानीपूर्वक आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडा लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने चिकित्सकले सुझाव दिएका छन्।