प्रदेशको नाम मधेश तोकिएको विरोधमा प्रदेशसभा सदस्यहरूको पुत्ला जलाइयो – Madhesh Update

प्रदेशको नाम मधेश तोकिएको विरोधमा प्रदेशसभा सदस्यहरूको पुत्ला जलाइयो

   January 18, 2022  

जनकपुरधामका युवाहरूको एक समूहले प्रदेश २ को नाम मधेश प्रदेश तोकिएको विरोधमा प्रदेशसभा सदस्यहरूको पुत्ला जलाएका छन्। सुशील कर्णको नेतृत्वमा रहेका युवाहरूको समुहले मात्र ८ जिल्लाको प्रदेशलाई मधेश नामकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरेका हुन्।

उनीहरूले ८ जिल्लाको प्रदेशलाई मात्र मधेश प्रदेश नमान्ने चेतावनी दिदै प्रदेश सभासदस्यहरूको पुत्ला दहन गरेका हुन्।

प्रदर्शनको क्रममा युवाहरूले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचान सहितको मिथिला भोजपुरा प्रदेश नामकरण गर्’ लगायतका नारा लगाएका थिए।

विरोधको अगुवाइ गर्दै गरेका कर्णले यो ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले नामकरण पनि सोही आधारमा हुनुपर्ने माग गरे। उनले भने, ‘‘यो ८ जिल्ला मात्रै मधेश होइन, २२ जिल्लासहित मधेश प्रदेश नामकरण गरे हामीलाई स्वीकार छ, नभए यहाँको पहिचान सहित मिथिला भोजपुरा नामकरण हुनुपर्छ।’’

प्रदेशको नामकरणबारे पुनर्विचार नभए थप आन्दोलन गर्ने उनको भनाइ थियो।