प्रदेश–२ का विषयगत समिति सुस्त, कतिपय सभापतिविहीन – Madhesh Update

प्रदेश–२ का विषयगत समिति सुस्त, कतिपय सभापतिविहीन

   January 16, 2022  

प्रदेशमा अर्थ तथा योजना समिति, विकास समिति, कृषि तथा भूमि व्यवस्था समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण र सार्वजनिक लेखा समिति छन् । जसमध्ये सार्वजनिक लेखा, कृषि तथा भूमि व्यवस्था र प्राकृतिक स्रोत तथा वातावरण समिति सभापतिविहीन छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भागमा परेको सार्वजनिक लेखा समितिमा सभापति चयनका लागि पार्टीभित्र विवाद भएको थियो । सभापतिका लागि रामकुमार यादव र शत्रुधन महतोले उम्मेदवारी दिए। तर, विवाद नमिल्दा सभापतिको लागि निर्वाचन समेत हुन सकेन ।

कृषि तथा भूमि व्यवस्था समितिका सभापति रहेका वीरेन्द्रप्रसाद सिंह महिला तथा बालबालिका मन्त्री बनेपछि सो समितिको सभापति पद खाली भएको हो ।

त्यस्तै, प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रहेका रामचन्द्र मण्डलले पार्टी परित्याग गरेपछि उक्त पद रिक्त छ । नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको थियो ।

प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले राजनीतिक परिवर्तनको असर प्रदेश सभाको विषयगत समितिमा परेको बताए । उनले छिटै सभापति चयनको प्रक्रिया शुरू गरिने बताउँदै छठपछि बैठक समेत नियमित हुने प्रतिक्रिया दिए ।

अर्थ समितिका सभापति मनीषकुमार सुमनले सरकारले समितिको महत्त्व नबुझेको बताए । सरकारले बजेट ल्याउँदा समेत समितिसँग छलफल नगरेको उनले बताए ।

महिला, बालबालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राइनले चाहिं आफू नेतृत्वको समितिले सबैभन्दा बढी बैठक गरेको दाबी गरे। “संसदीय अभ्यासमा सबैभन्दा अगाडि हाम्रो समिति छ,” उनले भने, “हामीले हालसम्म १०५ बैठक गरेका छौं ।”