मुसहर बस्तीमा खानेपानी अभाव – Madhesh Update

मुसहर बस्तीमा खानेपानी अभाव

   January 12, 2022  

महोत्तरीको एकडारा गाउँपालिका–४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ।

दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयबासी सिकिन्दर सदा मुसहरले बताए।

सिकिन्दरका अनुसार मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन। बस्तीका सबैले गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन्।

स्थानीय ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरु यहाँ चार पुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोड्न नसकेको बताइन्।

स्थानीय तेतरी सदाले १०० परिवार मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबल्टु) निकालेर राखिदिने र कहिलेकाँही छोइन्छ भन्दै गालीगलौजसमेत गर्ने गरेको बताइन्।

स्थानीय रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने र बालबालिका पानी खान गएका कारण कुनै कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताइन्।