धनुुषमा लाखौं मूल्यको चाँदीका गहनासहित एक युवक पक्राउ – Madhesh Update

धनुुषमा लाखौं मूल्यको चाँदीका गहनासहित एक युवक पक्राउ

   January 11, 2022  

धनुषामा लाखौं मूल्यको चाँदीका गहनासहित एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधामबाट झण्डै ८ लाख बराबरको चाँदीको गहनासहित सुनसरी इटहरी उपमहानगरपालिका वडा नं ५ शिवालय बस्ने ३० वर्षीय कुमार खातीलाई पक्राउ गरिएको छ ।

जनकपुरधाम ५ बाट पक्राउ परेका खातीको साथबाट ९ केजी ७६७ ग्राम चाँदीको गहना बरामद गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं १–०२–०४५ प ८२७ नम्बरको २२० सीसीको प्लसर मोटरसाईकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा पिठयूँमा बोकेको झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ को गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल प्रहरीले बरामद गरेका छन् ।

प्रहरीले ब्रास्लेट नगदार १८४ थान, वालिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।

पक्राउ परेका खातीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।