नेपाली काग्रेसको धनुषा सभापतिमा निधि पक्षका योगेन्द्र पजियारको उम्मेदवारी – Madhesh Update

नेपाली काग्रेसको धनुषा सभापतिमा निधि पक्षका योगेन्द्र पजियारको उम्मेदवारी

   January 5, 2022  

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले नेपाली काँग्रेसको धनुषा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी पूर्व उपसभापति विमलेन्द्र निधि समूहका हुन् । पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना लिएर आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनले काँग्रेस पार्टी सुदृढीकरणका लागि आफूले ध्यान दिने पनि बताए । लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाका क्रममा विभिन्न समूह देखिए पनि चुनावपछि सबै एक हुने उनको भनाइ छ ।

प्रदेश २ का ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ । जिल्ला अधिवेशन माघ १५ गते गर्ने जनाइएको छ ।

धनुषा जिल्ला अधिवेशनमा काँग्रेसको करिब ४ हजार मतदाता छन् । जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विश्वेश्वर यादवसमेत आकांक्षी छन् ।