तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित
एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।
जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।
खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्रभावित भएको चिकित्सकहरु बताउँछन् । उनीहरुमा चिसोका कारण हुने बिमारी देखिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले लगातार जाडो बढ्दै गएकाले अब छिटै जिल्लाको सबै स्थानीय तहको चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए ।
जाडो बढेसँगै बारा, पर्सा, रौतहट लगायतका जिल्लामा न्यानो कपडाको कारोबार बढेको छ । जाडो छल्न न्यानो कपडा खरिद गर्ने सर्वसाधारणको भिड बढेको छ । गौर, कटहरिया, कलैया बजारका प्रायः सबै कपडा पसल ग्राहकले भरिभराउ हुने गरेका छन् ।
छठ पर्वपछि सेलाएको कपडा व्यवसाय जाडोकै कारण चलायमान बनेको व्यापारीहरु बताउँछन् ।
चिसो बढ्दै गएपछि पठनपाठन बन्द
शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ। गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो।
ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रति ज्येष्ठ नागरिकलाई करिब रछ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ।