सीके राउत नेतृत्वको जनमत पार्टीको विरोध कार्यक्रममा प्रहरीले चलायो गोली

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड गोली चलाएको हो।
गोली लागेर चार जना आन्दोलनकारी घाइते भएका प्रहरीले जनाएको छ। आन्दोलनकारीको ढुंगामुढाबाट २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो। गोली चलेपछि आन्दोलनकारीहरू तितरबितर भएका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषाको पोर्ताहामा झडप भएको हो।
धाईते भएका आफ्ना कार्यकर्ताको अवस्था बुझ्न जनमत पार्टीका अध्यक्ष सीके राउत अस्पताल पुुगेका थिए ।
आफ्ना कार्यकर्तामाथि गोली चलाएको घटनापछि राउतले प्रहरीमाथि आक्रोश पोखेका छन्। ‘नश्लीय प्रहरी’ले बन्दुकको दम्भ देखाएको आरोप राउतले लगाएका छन्। घाइते कार्यकर्तालाई भेट्न जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेका उनले भने, “नश्लीय प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना। नरसंहार गर्न खोजिएको छ। यसको जवाफ प्रहरीले दिनुपर्छ।”
प्रहरीले ‘क्रुर दमन’ नरोके अब नयाँ तरिकाबाट सशक्त रूपमा प्रस्तुत हुने राउतले चेतावनीसमेत दिए। उनले काठमाडौंमा सिंहदरबार अगाडिकै सडक अवरुद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि गोली चलाएर नरसंहार गर्न खोजेको भन्दै दुःख व्यक्त गरे।
सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए। त्यसयता, गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। यही विषयलाई सीके राउतको पार्टीले मुद्दा बनाएर तराई मधेशका जिल्लामा लगातार प्रदर्शन जारी राखेको छ।