अंग्रेजी नयाँवर्षमा पर्यटकले भरियो जनकपुरधाम – Madhesh Update

अंग्रेजी नयाँवर्षमा पर्यटकले भरियो जनकपुरधाम

   January 2, 2022  

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ।

अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ। भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएको छ।

शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिरलगायतका धार्मिक मठ मन्दिरहरुमा पर्यटकहरुको भीड लागेको छ। भारतीय गाडीहरुको चाप बढेको छ।

महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुर आएका छन्।

कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरुको भीड देखिएको छ।

नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत ठाउँबाट हजारौको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् ।

त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन् । नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन्।

अहिले जनकपुरको होटलहरु पर्यटकले भरिभराउ भएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा तीन चार वर्षपछि यत्तिका संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरे।

अहिले भारतीय गाडीको चापसमेत अत्यधिक बढेको छ। भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ।

सीताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुर अत्यधिक रुपमा आउने गरेका छन्। तर, नयाँ वर्षमा अहिले अत्यधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ।