प्रदेशको नाम र राजधानी तोक्न असफल प्रदेश दुुई सरकार – Madhesh Update

प्रदेशको नाम र राजधानी तोक्न असफल प्रदेश दुुई सरकार

   December 31, 2021  

अंकगणित र अवस्था फेरिए पनि तोकिएन प्रदेशको नाम र राजधानी

प्रदेश सभा गठन भएको झण्डै चार वर्ष बितिसक्दा पनि प्रदेशको नाम र राजधानीमा अझै पनि अन्योलता कायमै रहेको छ ।

प्रदेशको नामकरण नहुंदा दुई नम्बरी प्रदेश भनेर सत्तारुद्ध दलकै शीर्ष नेताहरुले बेलाबेलामा उपहास गर्ने गरका छन् तापनि संसदीय दलहरु गंभीर हुन सकेका छैनन् । सत्तारुढ दल भित्रै नाम र राजधानीबारे फरक–फरक प्रस्तावका कारण नामकरणको सम्भावना न्यून हुंदै गएको छ । नाम र राजधानीबारे दलहरु असंवेदनशील देखिए पनि सभामुख सरोज कुमार यादवले भने अग्रसरता देखाएका छन् । गत वर्ष चैतमा नाम र राजधानीका लागि थालिएको प्रयास अफसल भएपछि सभामुख यादवले एक पटक फेरि प्रयास थालेका हुन् ।

दलहरुको नाम, अंकगणित र अवस्था फेरिए पनि पुरानै एजेण्डा अघि सार्दै आएकाले दोस्रो प्रयास पनि असफल हुने सम्भावना छ । गत वर्ष प्रदेश सभामा नेकपाको ३२, समाजवादीको ३०, राजपाको २५, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी नेपालको १ गरी १ सय ७ सासद रहेको बेला नाम राजधानी तय हुन सकेको थिएन । भने दोस्रो प्रयास जारी रहंदा अहिले प्रदेश सभामा जसपाको ३९, काँग्रेसको १९, एमालेको ८, नेकपा एकीकृत समाजवादीको १३, माओवादीको ८, लोसपाको १६ र संघीय समाजवादी पार्टी नेपालको १ गरी १०४ जना सासद रहेका छन् । सोमध्ये सत्ता रुढ दल जसपा, कांग्रेस, नेकपा एस, माओवादी केन्द्र गरी ७९ सासद छन् । अर्थात दुई तिहाईका लागि भन्दा एक मत बढी नै छ । तर ती दलहरुको प्रस्ताव नै फरक–फरक रहेकाले नाम र राजधानी सम्बन्धी प्रस्ताव अझै अन्योलमा परेको छ ।

प्रदेशको नाम र राजधानी तोक्न पहिलो प्रयासमा प्रदेश सभामा जसपा, नेकपा, कांग्रेस र नेपाल संघीय समाजवादी मात्रै थियो । तर अहिले वर्तमानमा प्रदेश सभामा लोसपा, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी थपिएको छ । जसपा विभाजन भएपछि लोसपा थपिएको छ भने नेकपा विभाजन पश्चात माओवादी केन्द्र र नेकपा एमाले विभाजन हुंदा नेकपा एकीकृत समाजवादी पार्टी थपिएको छ ।

केही दिन अघि प्रदेश सभाले प्रदेशको नाम र राजधानीको विषयमा दल तथा सासदहरुसंग प्रस्ताव गर्न माग गरेको थियो । प्रदेशको नामकरणमा ४ र राजनधानीमा २ प्रस्ताव दर्ताको स्थिति छ । जसपा, लोसपा र माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव गरेको छ भने राजधानीमा जनकपुरको प्रस्ताव गरेको छ ।

त्यसैगरी कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा, एमालेले जानकी, नेकपा एकीकृतले जानकी र कांग्रेसका केही सांसदले मध्य मधेशको प्रस्ताव गरेको छ । राजधानीमा सबै दलले जनकपुरकै नाम प्रस्ताव गरेपनि वीरगञ्ज सम्बद्ध सांसदले राजधानीमा वीरगञ्ज कै प्रस्तावमा अडिग छन् । प्रदेशको राजधानीको पनि टुंगो नलाग्दा प्रदेश सरकारले आफ्ना भौत्तिक संरचना खडा समेत गर्न नसक्ने कानूनी प्रावधानको बाध्यता छ । प्रदेशको स्थायी राजधानीको निर्णय नभए सम्म प्रदेश सरकारले थप मन्त्रालयको थप भवन वा भौत्तिक संरचना खडा गर्न नसक्ने कानूनी जटिलता रहेको छ । सो अवस्थामा एउटै भवनमा ४ वटा मन्त्रालय चलाउन प्रदेश सरकार बाध्य छ ।

हुनत प्रदेश सभाको ८ औ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी टुंग्याउन ढिलो भएपनि अव ८ औ अधिवेशनबाट जसरी पनि टुंगो लगाउने दाबी गरेका थिए । प्रदेशको नाम र राजधानीको विषयमा सरकार गंभीर रहेको भन्दै जसरी पनि दलीय सहमतिमा ती विषयलाई टुंगो लगाउने मुख्यमन्त्री राउतको दाबी थियो ।

सरकारका सहयोगी दल नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले सत्ता रुढ दलहरुकै प्रदेशको नाम र राजधानीको प्रस्ताव फरक फरक भए पनि साझा प्रस्तावको विषयमा सत्ता रुढ दलहरु बीच छलफल भईरहेको बताए । जानकी मधेश, मिथिला मधेश, मध्य मधेश लगायतका साझा एजेण्डा हुन सक्ने उनको धारणा छ । सत्ता रुढ दल कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले प्रदेशको नाम र राजधानीको सवालमा आफ्नो पार्टीले हदै सम्मको लचकता अपनाउन सक्ने बताए ।

यता, प्रमुख प्रतिपक्षी दल लोसपाले प्रदेशको नाम मधेश प्रदेशको लागि सत्ता रुढका साथै विपक्षी दलहरुसँग पनि छलफल थालेको छ । लोसपाका सांसद रानी शर्मा तिवारीको नेतृत्वमा लोसपाले प्रदेशको नाममा सहमति जुटाउन वार्ता कमिटी नै गठन गरेको छ । वार्ता समितिले अहिले सम्म विपक्षी दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीसंग वार्ता गरेको छ । वार्ता समिति संयोजक सांसद तिवारीले भनिन्,‘ हामीले उहांहरुलाई आफ्नो एजेण्डाको विषयमा कुरा राखेका छौ, उहाँहरुले हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ । तर उहाँले पार्टीका केन्द्रीय नेताहरुसँग छलफल गरेर मात्र कुनै निर्णय लिन सकिने भनेका छन्।’ नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकारले ५ वर्षमा पनि प्रदेशको नाम र राजधानी टुग्याउने मानसिकतामा नरहेको आरोप लगाए । प्रदेशको नाम र राजधानीलाई मधेशवादी दलले आगामी चुनावी एजेण्डा बनाउने दाउमा रहेको नेता मण्डलले टिप्पणी गरे ।