सिके राउत नेतृत्वको जनमत पार्टीले आन्द्योलन जारी राख्ने – Madhesh Update

सिके राउत नेतृत्वको जनमत पार्टीले आन्द्योलन जारी राख्ने

   December 29, 2021  

सिरहामा पक्राउ परेका आफना नेता कार्यकर्ता रिहा भए पनि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्द्योलन जारी राख्ने जनाएको छ । मंगलवार साझ सिरहा प्रशासनले जनमत पार्टीका नेता तथा कार्यकर्ता रिहाई गरेका थिए । तर वुधवार भने यो पार्टीले तराई मधेशका जिल्लाहरुमा चक्काजाम गर्दै प्रर्दशनहरु जारी राखेका छन । जनमत पार्टीले आफुहरुले किसानहरुको माग सम्बोधन लागी उठाएको मुद्धाहरु सम्बोधन नहुन्जेल सम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

सिरहाको औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाटको विषयलाई जनमत पार्टीले मुद्दा बनाएर आन्दोलन सुरु गरेको हो । पुस ६ मा किसानहरूले गोदामको ताला तोडेर गहुँको बिउ लुटेपछि औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

यादव पक्राउ परेपछि सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन गाउँबाट राजमार्ग केन्द्रित भयो । आन्दोलन अरु जिल्लामा पनि विस्तार भयो ।

सिरहामा आमहड्ताल गर्दा सीके राउतका कार्यकर्ताले तोडफोड तथा आगजनी गरे । प्रहरीसँग दोहोरो झडप पनि भयो । प्रहरीले बल प्रयोग गर्दा जनमत पार्टीका केही कार्यकर्ता घाइते भए, कतिपय समातिए । प्रदर्शनको क्रममा राउतका कार्यकर्ताले १९ वटा सवारी साधन तोडफोड गरे भने एउटा ट्रकमा आगो लगाए । जिल्ला प्रशासन कार्यालय सिरहाले पक्राउ गरेका जनमत पार्टीका १७ जनालाई रिहा गरिसकेको छ । अझै आफूहरुको माग पूरा नभएको भन्दै सो पार्टीले आन्दोलन जारी राखेको छ ।

को हो माग ?

जनमत पार्टीले १२ बुँदे माग अघि सारेको छ । प्रधानमन्त्री कार्यालयलाई पठाएको सो माग निर्वाचनअघि पूरा हुनुपर्ने भनिएको छ ।

सो पार्टीले निम्न माग प्रस्तुत गरेको छ–

१। जनसंख्याको आधारमा तराई–मधेसमा ५० प्रतिशत स्थानीय तह कायम हुने गरी स्थानीय तहको पुनर्संरचना निर्वाचनपूर्व गर्नुपर्ने ।

२। जनसंख्याको आधारमा मातृभाषा समान हुने गरी प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने ।

३। नागरिकताविहीनहरूले पनि मतदान गर्न पाउने कानूनी व्यवस्था मिलाउनु पर्ने ।

४। अंगीकृत र जन्मसिद्ध नागरिकको सन्तानहरूले नागरिकता नपाइराखेको र उनीहरूको अधिकार समेत कटौती भएको अवस्थामा नागरिकता समस्यालाई पहिला समाधान गर्नुपर्ने ।

५। वैदेशिक रोजगारको क्रममा रहेका योग्य नेपाली मतदाताहरूले मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।

६। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यताको लागि रहेको न्यूनतम ३ प्रतिशत मत र एक सिटको प्रावधान हटाउनु पर्ने ।

७। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ९६० र ९७० अनुसार राष्ट्रिय दलले मात्रै निर्वाचन चिन्ह पाउने र अन्य दलले नपाउने गरी रहेको विभेदपूर्ण प्रावधान खारिज गरिनु पर्ने ।

८। प्रदेशको पुनः सीमांकनको सवाललाई समाधान गरेर मात्रै प्रदेश सभाको निर्वाचन गर्नुपर्ने ।

९। निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने वातावरणको सुनिश्चितता गर्नुपर्नेस आचारसंहिता उल्लंघन गर्ने, मत खरिदबिक्री गर्ने, मतदातालाई डर, त्रास तथा लोभ–लालच देखाएर मत प्रभावित गर्ने उम्मेदबारहरूमाथि निश्चित् रूपमा कारबाही हुने व्यवस्था गर्नुपर्ने ।

१०। विगत करिब पाँच वर्षमा जनप्रतिनिधिहरूद्वारा व्यापक भ्रष्टाचार भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परेका ऊजुरीहरूमाथि द्रुत गतिमा छानबिन गर्नुपर्ने र भ्रष्टाचारको कसुरमा मुद्दा दर्ता भएका व्यक्तिहरू तत्काल् उम्मेदबार बन्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने ।

११। नेपालको संविधान २०७२ जारी हुँदा देशको आधाभन्दा बढी जनसंख्या असन्तुष्ट र आन्दोलित रहेको तर उनीहरूले उठाएको संविधान संशोधन, प्रदेश सीमांकन र सेना तथा प्रहरी सहित राज्यका हरेक अंगमा सबै समुदायको समानुपातिक सहभागिता सहितका मुद्दाहरू अहिलेसम्म पनि सम्बोधन हुन नसकेकोले यस सम्बन्धी आयोग गठन गरेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनु पर्ने ।

१२। नेपाल सरकारसँग मधेस आन्दोलनको क्रममा भएको ८ बूँदे र र स्वराज आन्दोलनको क्रममा भएको ११ बूँदे सम्झौता लागू हुनुपर्ने । सोमध्ये सहिद परिवारमध्ये एक जनालाई सरकारले स्थायी जागिर दिनुपर्ने, घाइते आन्दोलनकारीहरूलाई उपचार खर्च उपलब्ध गराउनु पर्ने, आन्दोलनमा अशक्त भएकाहरूलाई मासिक भत्ता उपलब्ध गराउनु पर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको सम्पूर्ण मुद्दाहरू फिर्ता गर्नुपर्ने ।