पर्सामा कोरोनाविरुद्धको खोप लगाउने समय दुई दिन थप

पर्सामा सञ्चालित विशेष खोप अभियान दुई दिन थप गरिएको छ । जिल्ला खोप समन्वय समिति पर्साको बिहीबार बसेको बैठकेले मंसिर २६ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि मंसिर २२ देखि २४ गतेसम्म मात्रै विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कोभिड १९ विरुद्धको खोप ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ अभियान सञ्चालनमा छ । पर्साको १४ वटै स्थानीय तहमा १ सय २९ खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘भेरोसेल खोप’ लगाउने कार्य भइरहेको छ ।
पुस मसान्तभित्र दुई तिहाई नागरिक अर्थात ६६ प्रतिशतलाई खोप लगाई सक्ने लक्ष्य जिल्ला खोप समन्वय समिति पर्साले लिएको छ । खोप केन्द्रमा धेरै भिडभाड नहोस र बढी भन्दा बढी नागरिकले खोप लगाउन भनेर थप दुई दिन अभियान सञ्चालन गर्ने निर्णयमा पुगेको जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
‘खोप केन्द्रमा धेरै भिडभाड गर्न भएन, विस्तारै आएर लगाउन पाउन भनेर खोप अभियान थप २ दिन सञ्चालन गर्ने निर्णय गरेका हौं । ’ उनले भने ‘ नागरिक खोप लगाउन आए भने अभियानको समय अझै थप गर्न सकिन्छ ।’
२०७८ साउन यता पर्सामा ७ पटक कोरोना भाइरस विरुद्ध खोप अभियान सञ्चालन भईसकेको छ । त्यसक्रममा पर्सा जिल्लामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोस्रो मात्रा खोप लगाईसकेका छन् ।
जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिसिल्डको दुवै डोज, ६६ हजार ३ सय ७५ जनाले भेरोसेलके दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जनसन सिंगल डोज र २१ हजार ९ सय ८२ जनाले एष्ट्राजेनेकाको दुवै डोज खोप लगाएका छन् ।
जिल्लामा १८ वर्ष भन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३ सय ६८ जना छ । हालसम्म ३० ९२९।६७० प्रतिशतले मात्रै खोप लगाएको अवस्था छ ।
खोप लिन बाँकी रहेका १८ वर्ष उमेर भन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरि तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राईपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना भएका छन् ।
भेरोसेल सिनोफार्म खोपको पहिलो मात्रा वा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपको समेत सुनिश्चितता भईसकेको छ । त्यसैले अभियानमा भेरोसेल सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि खोप प्रदान गर्ने गरि तयारी गरिएको छ ।
गर्भाअवस्थाको पहिलो त्रैमासिक पुगेको सबै गर्भवतीलाई खोप पनि दिइने छ । यसअघि भेरोसेल कोभिसिल्ड वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोस्रा मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिनेगरि व्यवस्था मिलाएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको प्रदेश स्तरिय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम तीन वटा नीजि अस्पतालहरुमा पनि खोप सेवा सञ्चालन भइरहेको छ ।