जनकपुरको कवर्ड हल कवाडमा परिणत – Madhesh Update

जनकपुरको कवर्ड हल कवाडमा परिणत

   December 2, 2021  

प्रदेश २ सरकारले विभिन्न कार्यक्रमको आयोजना गर्ने मधेश भवन भित्रको कवर्ड हलको अवस्था जीर्ण बनेको छ ।

सरकार गठन भएको झण्डै ४ वर्षमा सरकारले मन्त्रीहरुको शपथ ग्रहण लगायतका सम्पूर्ण खुला औपचारिक कार्यक्रम सोही कवर्ड हलमै आयोजना गर्दै आएको छ । तर सो कवर्ड हलको मरम्मत सम्भार तथा नियमित सफाइ नहुंदा कवर्ड हल अहिले कवाड थुपार्ने थलोमा परिणत भएको छ । जनकपुर चुरोट कारखानासंगै निर्माण भएको उक्त हलको मुलद्वारको ढोकामा लगाइएको तारजाली ठाउं–ठाउंमा च्यातिएको छ भने हलको कोठामा रहेका पंखा सहितका विद्युतीय उपकरणहरु जीर्ण बनेको छ ।

कवाडमा परिणत हुंदै गएको कवर्ड हलमा आयोजना हुने कार्यक्रममा बेला–बेलामा सांसददेखि मुख्यमन्त्रीसम्म पुग्ने गरेपनि हलको जीर्णअवस्था प्रति कसैले कुनै चासो लिएको गुनासो नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने । उनले भने,‘सयौं कार्यक्रममा यहाँ सरकारका प्रमुखदेखि मन्त्री,सचिवहरु यो हलमा आउछन्, तर यो हलको दुरावस्था बारेमा कसैको कुनै चासो छैन।’

जीर्ण बनेको हल लामो समयदेखि मरम्मत सम्भारको पर्खाइमा रहेको बताउंदै उनले भने ,‘मधेश भवन भित्रकै हल सुधार गर्न नसक्ने मन्त्रीहरुले जनताको लागि के गरिरहेको होला भन्नेबारे केही भनिरहनु पर्ने आवश्यकता छैन ।’ मन्त्रीहरु कमिशन आउने तथा आफ्ना क्षेत्रका योजना ल्याउन सिपालु रहेको बताउंदै उनले हिन्दीको भनाई ‘दिया तले अन्धेरा’ जस्तै मधेश भवन भित्रै कै कवर्ड हलको अवस्था रहेको बताए ।