हरवा-चरवा आन्दोलनको तैयारीमा – Madhesh Update

हरवा-चरवा आन्दोलनको तैयारीमा

   November 29, 2021  

सरकारी पक्षबाट समस्या समाधानको कुनै पहल नभएको भन्दै सप्तरी जिल्लाका हरवा चरवाहरुले आन्दोलन गर्ने तयारी गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिकामा शनिबार “हरवा चरवाको सवाल, मुक्ति र पुनःस्थापनाको आधार” नारासहित सुरु भएको जिल्ला स्तरीय हरवा चरवा सभामा सहभागी अगुवाहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यसका लागि जनसंगठन निर्माण, विस्तार, सुदृढिकरण तथा परिचालन लगायतका कार्य सुरु गरिसकिएको राष्ट्रिय हरवा चरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले बताए । सभामा हरवा चरवा महिला उत्थान समाजकी अगुवा चन्देश्वरीदेवी सदाले साहु महाजनको खेत बारीमा काम गर्ने र वस्तुभाउ चराए पछि पाउने न्यून मजदुरीले आफूसहित जहान बालबच्चालाई एक छाक टार्न पनि कष्ट झेल्नु परेको तर सरकारबाट कुनै सहयोग नपाएको गुनासो पोखिन् ।

हरवा चरवा तथा दलित अधिकार क्षेत्रमा क्रियाशील दलित जनचेतना संगमका कार्यकारी निर्देशक गणेश रामले मुलुकमा पटक–पटक व्यवस्था र सरकार परिवर्तन भए पनि वर्षौदेखि भूमिहीन हरवा चरवाको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै अब राष्ट्रव्यापी आन्दोलनको विकल्प नरहेको उल्लेख गरे । उनले हरवा चरवा संगठित भई आन्दोलनको तयारी सुरु हुनु सराहनीय रहेको बताउंदै आफूले पनि हरवा चरवाको सशक्तिकरणका लागि क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले हरवा चरवाको उठिबास हुने खालका कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत समेत गराए । सभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले हरवा चरवाको समस्यालाई आफूले नजिकबाट नियाल्दै आएको चर्चा गर्दै समस्या समाधान, उनीहरुको उत्थान र सशक्तिकरणका लागि आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

द फ्रिडम फण्ड र दलित जनचेतना संगमको सहयोग तथा हरवा चरवा अधिकार मञ्च सप्तरीको आयोजनामा संचालित सभामा खड्क नगरपालिका, हरवा चरवा मञ्चका नगर अध्यक्ष बलदेव मण्डल, दलित जनचेतना संगमका अध्यक्ष रामलखन राम, पत्रकार बैद्यनाथ झा, वडा अध्यक्ष देवेन्द्र चौधरी, द फ्रिडम फण्डका प्रतिनिधि ब्रह्मदेव राम लगायतकाले कार्यक्रममा बोल्दै हरवा चरवा र दलितमाथि भइरहेको विभेद अन्त्यका लागि संगठित भई अघि बढ्ने पर्नेमा जोड दिएका थिए ।