सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा गोली चल्यो

जिल्लाको बलरा नगरपालिका-९ अचलगढमा कांग्रेसको वडा अधिवेशनस्थलमा गोली चलेको छ। पार्टीका दुई समूहबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा कांग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह त्यहाँ पुगेका बेला कांग्रेस नेता एवं सर्लाही क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य डा अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहका कार्यकर्ताबीच हात हालाहाल भएको थियो।
उक्त क्रममा मन्त्री सिंहका अंगरक्षकले एक राउण्ड हवाई फायर गरेका हुन्।
विवादका क्रममा आफ्ना अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाइते भएका मन्त्री सिंहले जानकारी दिए। घाइते दुवैलाई मंलगवा अस्पतालमा उपचार गराइएको छ।