विवाहपञ्चमी‍को तयारी तीव्र पारिँदै, यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने – Madhesh Update

विवाहपञ्चमी‍को तयारी तीव्र पारिँदै, यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने

   November 28, 2021  

जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ। अहिले जानकी मन्दिरले महोत्सवका लागि मन्दिर सरसफाइ तथा सजावट गर्ने काम धमाधम गरिरहेको छ। यही मंसीर १७ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरले तयारी तीव्र बनाएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

उनले विवाहपञ्चमी महामहोत्सव भव्य रूपमा मनाउन जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरू पनि गठन गरिएको जानकारी दिए।

धार्मिक प्रवचनका लागि पण्डलको निर्माण भइरहेको छ। यसै गरी रामलीला प्रदर्शनका लागि अभ्यास शुरु गरिएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंसीर १७ गते जनकपुर नगरदर्शन, १८ गते फूलवारी लिला, १९ धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ विवाहोत्सव तथा २३ गते रमकलेवा रहेको छ।

यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने

यस वर्ष पनि भारतको अयोध्याबाट औपचारिक रूपमा जन्ती नआउने भएका छन्। तर विधिका लागि केही मात्रामा साधुसन्त तथा महन्थहरू आउने उत्तराधिकारी महन्थ दासले जानकारी दिए। कोरोना संक्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्तीहरू आएका छैनन्।

जनकपुरधाममा हुने महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा रामजानकी विवाह पञ्चमी महामहोत्सव मनाइने गरिन्छ।

विगतका दुई वर्ष कोरोनाले प्रभावित भएको महोत्सव यस वर्ष केही सन्तोषजनक हुने विश्वास गरिएको छ। दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ।