प्रदेश २ सभाको ८ औं अधिवेशन आह्वान – Madhesh Update

प्रदेश २ सभाको ८ औं अधिवेशन आह्वान

   November 25, 2021  

प्रदेशसभाको ७ औं अधिवेशन सम्पन्न भएको झण्डै डेढ महिनापछि प्रदेश २ सभाको ८ औं अधिवेशन आह्वान गरिएको छ । प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको ८ औं अधिवेशन आह्वान गरेको हो । चार दलीय गठबन्धनको सरकार बनेपछि पहिलो पटक प्रदेशसभाको अधिवेशन सुरु हुन लागेको हो ।

यो अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा पुनः छलफल हुने बताइएको छ । गठबन्धनको दुई तिहाइको सरकार बने पनि प्रदेशको नाम र राजधानीमा अहिलेबीच सहमति हुन सकेको छैन । सभामुख सरोज कुमार यादवले प्रदेशको नाम र राजधानीका लागि सातौँ अधिवेशनमा प्रदेश सरकारलाई रुलिङ गरेका थिए । तर, पनि अहिलेसम्म दलहरू यो विषयमा सहमत हुन सकेको छैन ।

यसअघि प्रदेशको नाम र राजधानी सम्बन्धी प्रदेश सभामा प्रस्तुत गरिएको प्रस्ताव असफल भइसकेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीले मधेस प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ ।

प्रमुख प्रतिपक्षी दल बनेको लोसपाले मधेस प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहने प्रतिबद्धता जनाउँदै आएको छ । तर, अहिले सत्तामा रहेका काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी राजधानीमा सहमत भए पनि प्रदेशको नाममा सहमत हुन सकेको छैन । सत्तामै रहेका माओवादी केन्द्र भने जसपाले नै प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीमा सहमत हुने संकेत गरिसकेका छन् ।