विभिन्न मागसहित हरुवा चरुवा अधिकार मञ्चले बुझायो ज्ञापनपत्र – Madhesh Update

विभिन्न मागसहित हरुवा चरुवा अधिकार मञ्चले बुझायो ज्ञापनपत्र

   November 23, 2021  

हरुवा चरुवा अधिकार मञ्चले प्रदेश २ का ६ जिल्लाका २४ वटा स्थानीय तहलाई विभिन्न मागसहित एकै दिन ज्ञापनपत्र बुझाएको छ । प्रदेश २ को पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरीका २४ वटा स्थानीय तहमा हरुवा चरुवा अधिकार मञ्चले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

दास प्रथाका रूपमा रहेको हरुवा चरुवा प्रथा अन्त्य गर्न, कृषि बधुवा श्रमिकको नागरिकता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका सवाललाई सहज ढंगले सम्बोधन गर्न माग गर्दै मञ्चले ज्ञापनपत्र बुझाएको हो । हरुवा चरुवाहरुको पहिचान, प्रमाणीकरण र परिचयपत्र वितरण गर्न र साथै हरुवा चरुवाहरू भूमिहीन भएकाले भूमिमाथि उनीहरूको स्वामित्व कायम गर्नसमेत माग गरेको मञ्चले जनाएको छ ।

राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकारी रुपनारायण पासवानले हाल स्थानीय सरकारबाटै सम्बोधन हुन सक्ने खालका माग अघि सारेर ज्ञापनपत्र बुझाइएको हो । दशकौँदेखि हरुवा चरुवा प्रथाबाट प्रताडित भई सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक दृष्टिबाट समेत पछि परेकाहरूलाई राज्यको मूलधारमा ल्याउनु राज्यको प्रमुख दायित्व भएकोले आफूहरूले उठाएका माग सम्बोधन हुनुपर्ने हरुवा चरुवा अधिकार मञ्च वीरगंजका अध्यक्ष जयप्रकाश माझी बताउँछन् ।