सिके राउतको पार्टीद्धारा जनकपुरमा खानेपानीका निमित्त प्रमुखलाई दुर्व्‍यवहार – Madhesh Update

सिके राउतको पार्टीद्धारा जनकपुरमा खानेपानीका निमित्त प्रमुखलाई दुर्व्‍यवहार

   October 21, 2021  

डा सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरस्थित खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई भ्रष्टाचारको आरोपमा कालोमोसो र हिलो दली नगर परिक्रमा गराएर दुव्र्यवहार गरेको छ।

खानेपानी कार्यालयमा आर्थिक हिनामिनता एवं भ्रष्टाचार भएको आरोपमा जनमत पार्टीले जनकारबाही गरिएको जनमत पार्टीका नेता इन्द्रजित यादबले बताए।

कार्यकर्ताहरूले ”जनताले के भन्छ – भ्रष्टाचारीलाई जेल दे भन्छ। होशियार अख्तियार ! भ्रष्ट्राचारी छाड्न पाइँदैन, भ्रष्ट मेयर र प्रदेश सरकार चाहिँदैन,” जस्ता नारा लगाएका थिए।

जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर शाह र प्रदेश सरकारविरुद्ध पनि नाराबाजी गरेको बताइएको छ।

अख्तियारले प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग गर्दै अख्तियारको बर्दिबास्थित कार्यालय अगाडि प्रदर्शन गरेको थियो।

सीके राउतका ५० कार्यकर्ता पक्राउ

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ५० भन्दा कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।