नेपाल-भारत रेलवे बैठकमा जयनगर-कुर्था रेल सञ्चालन मापदण्डमा हस्ताक्षर

नेपाल र भारतबीच सम्पन्न पाँचौँ क्रस बोर्डर रेल लिंक बैठकले ३४ किलोमिटर लामो जयनगर-कुर्था रेलमार्ग सञ्चालन मापदण्डमा हस्ताक्षर गरेको छ।
प्राचीन सहर जनकपुर हुँदै चल्ने रेलमार्गको सञ्चालन प्रक्रियाका मापदण्ड दुवै मुलुकका अधिकारीले हस्ताक्षर गरेका हुन्। नेपाल-भारत संयुक्त कार्यदलको बैठक बुधबार नयाँदिल्लीको चाणक्यपुरीमा सम्पन्न भएको हो।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार बैठक नेपाली प्रतिनिधि मण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए। यस्तै, भारतीय पक्षको नेतृत्व रेलवे मन्त्रालयका ट्राफिक ट्रान्सपोर्टेसनतर्फका कार्यकारी निर्देशक डा। मनोज सिंहले गरेका थिए।
बैठकमा भारतीय रेलवे, विदेश मन्त्रालय, कोन्कण रेल्वेज्, इर्कोन, केआरसीएलका उच्च अधिकारी सहभागी थिए। यस्तै, नेपाली प्रतिमण्डलमा रेल विभाग, अर्थ र गृह मन्त्रालयका अधिकारीहरू थिए।
कार्यदल बैठकमा दुई मुलुकबीच रेल सेवाको क्षेत्रमा प्राविधिक सहयोगबारे समीक्षा भएको थियो, जसमा जयनगर-बिजलपुरा-बर्दिवास तथा जोगवनी-विराटनगर क्रस बोर्डर रेलमार्गमा भइरहेको काम पनि सामेल थियो।
नेपाली पक्षले जयनगर-कुर्था रेलमार्गमा भइरहेको तयारीबारे विस्तृत प्रस्तुति दिएको थियो। भारतीय पक्षले यो खण्डमा रेल सञ्चालनका लागि पूर्ण सहयोग गर्ने सहमति दिएको छ। नेपाली पक्षले रेल सञ्चालनअघि नियामक ढाँचा तयार पार्न भारतीय पक्षको सहयोग मागेको थियो। त्यसमा पनि भारतीय पक्षले सहमति दिएको छ।
नेपालमा रेल सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग तथा रेलकर्मीहरूलाई तालिम र प्रशिक्षण दिन भारतीय पक्षले सहमति जनाएको छ। यस्तै, बैठकमा रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्ग निर्माण तथा दोस्रो चरणका परियोजनाहरूमा भएको प्रगतिबारे पनि छलफल भएको थियो।