लोसपा सरकारमा जाने निर्णय भएको छैन-महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने बारे आफ्नो पार्टीमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्। सरकारमा लोसपा पनि २ मन्त्री सहित सहभागी हुने चर्चा चलिररहेको बेलामा अध्यक्ष ठाकुरको यस्तो प्रष्टोक्ति आएको हो।
बाराको कलैयामा बिहीबार लोसपाको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले भने ,सरकारमा जाने बारेमा अहिलेसम्म पार्टीले कुनै निर्णय नै गरेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट सरकारमा सहभागिताको लागि औपचारिक आग्रह पनि नआएको ठाकुरले स्पष्ट पारे। फरक प्रसङ्गमा लोसपा अध्यक्ष ठाकुरले , उपेन्द्र यादवले नै जसपा पार्टी फुटाएको आरोपसमेत लगाए। उपेन्द्रले पार्टीको विवाद निर्वाचन आयोगमा लगेर जसपा फुटाएको ठाकुरको तर्क छ।
कार्यक्रममा लोसपाको प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको रवैयाका कारण संघीयता नै धरापमा परेको आरोप लगाए। प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनलले भने, ‘मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टचार बारे अख्तियारले छापा मार्दा संघीयता कमजोर हुने होइन बरु मुख्यमन्त्रीको अहिलेको रवैयाले संघीयता धरापमा परेको छ।
उनले मुख्यमन्त्री राउतले मधेस र मधेसी जनताको भावना विपरित गतिविधि संचालन गरिरहेको आरोप समेत लगाए। लोसपाका नेता समेत रहेका जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधीसभा सदस्य एकबाल मिया, लोकतान्त्रिक समाजवादी विधार्थी संघ बाराका अध्यक्ष सन्तोष यादव लगायतको पनि सहभागिता थियो।