मन्त्रीको नाम चयन गर्न उपेन्द्र यादव व्यस्त – Madhesh Update

मन्त्रीको नाम चयन गर्न उपेन्द्र यादव व्यस्त

   October 6, 2021  

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् । पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने जानकारी गराएको सो पार्टीका नेता रामसहाय यादवले बताए ।

कार्यकारिणी समिति सदस्य समेत रहेका नेता रामसहाय यादवले पार्टीका अन्य नेताको नेतृत्वमा सरकारमा पठाउने आफू सरकार बाहिर रहेर काम गर्ने प्रष्ट पारेको बताए । मधेश आन्दोलनपछि पार्टी जतिपटक सरकारमा सहभागी भयो त्यति पटक यादव आफ्नै नेतृत्व गरेर गएका थिए । जसपा नेपालले चारवटा मन्त्रालय पाएको छ । त्यसका लागि चारजना मन्त्रीको नाम चयन गर्नुपर्ने जिम्मेवारी पनि यादवको काँधमा छ । समावेशी, क्षेत्र, भूगोल, लिंग, पार्टीमा योगदानलगायतका विषयलाई ख्याल गरि मन्त्री छनौट गर्न बैठकले सुझाव दिएको छ ।

जसपा नेपालको भागमा भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय परेको छ । चारवटा मन्त्रालयका लागि मन्त्रीका आकांक्षीहरु धेरै छन् । कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव वा राजेन्द्र श्रेष्ठमध्ये एकजनाको नेतृत्वमा पार्टी सरकारमा जाने छलफल भइरहेको छ । यद्यपी पार्टीका शीर्ष नेताहरु डा।बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाउन् भन्ने पक्षमा रहेका छन् ।

चुनावी सरकार भएको हुनाले शीर्ष नेताहरु सरकारभन्दा बाहिर रहेर काम गर्नुपर्ने उनीहरुको धारणा छ ।

मन्त्रीका आकांक्षीमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, प्रदीप यादव, इस्तियाक राइन, प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, रेणुका गुरुङ, अमृता अग्रहरि, डा सुरेन्द्र यादवलगायतका सांसदहरु रहेका छन् । उनीहरु मध्येबाट यादवले परामर्श गरेर मन्त्री छान्नेछन् ।