सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा अख्तियार कार्यालय अगाडी प्रदर्शन – Madhesh Update

सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा अख्तियार कार्यालय अगाडी प्रदर्शन

   October 6, 2021  

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा जुलुश गर्दै महोत्तरीको बर्दिबास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियार कार्यालय घेराउको क्रममा जनमत पार्टीका कार्यर्ताहरुले ‘भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई छाड्नु हुँदैन, भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर, मधेसी जनता के भन्छ– भ्रष्टाचारीलाई जेल दे भन्छ’ जस्ता नारा लगाएका छन् ।

जनमत पार्टीका उपमहासचिव इन्द्रजीत यादवले भ्रष्टाचारसम्बन्धी फाइलहरु नियन्त्रणमा लिए पनि ‘माथिको राजनीतिक दबाब छ’ भन्दै मुद्दा दर्ता नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनले मुख्यमन्त्री लालबाबु राउतसहित सबै भ्रष्टाचारीमाथि कारबाही गर्न अख्तियार बर्दिबास प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको जानकारी दिए ।

जनमत पार्टीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेको थियो ।

‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब परेको छ ।