भारतबाट नेपाल प्रवेशमा लगाइएको गाइडलाईन हटाउन रौतहटमा माग गर्दै ज्ञापनपत्र

कोभिड–१९ को कारण लामो समयपछि खुलेको सीमा नाकामा भारतीयलाई प्रवेश गर्दा जारी गरिएको गाइडलाईन अबिलम्ब हटाउन माग गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीको नेतृत्वमा गएको सर्वदलीय टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाएको हो । कोभिड महामारीबाट अवस्था सहज हुँदै जाँदा सरकारले सीमा नाका खुला गरे पनि स्थलमार्गबाट नेपाल आउने भारतीय नागरिकका लागि जारी ८ पन्ने गाइडलाईनले दुई देश बीचको सम्बन्धलाई नै प्रभावित गरिरहेको सर्वदलीय समितिको ठहर छ ।
दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेकोमा कोभिड र सुरक्षाको नाउँमा गाइडलाईन जारी गरेर उक्त सम्बन्धलाई सरकारले तोड्ने काम गरेको ज्ञापनपत्रमा उल्लेख छ । कोभिडबाट बच्न अपनाउनु पर्ने सबै उपायप्रति आफूहरुको समर्थन रहेको तर सदियौंदेखि भइरहेको बिना रोकटोक आवागमनलाई कुनै पक्षबाट प्रभावित गर्ने काम भएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।
नागरिक समाजका अध्यक्ष केशरीका साथै सर्वदलीय समितिका तर्फबाट जसपाका केन्द्रीय सदस्य रेवन्त झा, लोसपाका अनिलकुमार सिंह, नेपाली काँग्रेसका मोहन यादव, नेकपा एमालेका चन्देश्वर राउत लगायतले ज्ञापनपत्र बुझाएका हुन् ।