प्रदेश २ मा सवारी दुर्घटनामा परी १० दिनको अवधिमा १४ जनाको मृत्यु – Madhesh Update

प्रदेश २ मा सवारी दुर्घटनामा परी १० दिनको अवधिमा १४ जनाको मृत्यु

   September 29, 2021  

पछिल्लो १० दिनमा प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । असोज १ गतेदेखि १० गतेसम्म १४५ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृत्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । यस्तै धनुषामा ३ जना, सर्लाहीमा २ जना तथा सप्तरी, रौतहट र बारामा १/१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

यो अवधिमा १४७ जना दुर्घटनामा परी घाइते भएका छन् । सबैभन्दा बढी रौतहटमा ३६ जना, सप्तरी र धनुषामा ३०र३० जना, सर्लाहीमा १६ जना, सिरहामा १४ जना, बारामा १० र पर्सामा ३ जना घाइते भएका छन् ।

सबैभन्दा बढी दुर्घटना धनुषामा भएको छ । धनुषामा ३४ वटा दुर्घटना हुँदा सप्तरीमा ३२, रौतहटमा २४, सर्लाहीमा २१, बारामा १३, सिरहामा ११, महोत्तरीमा ७ र पर्सामा ३ वटा दुर्घटना भएको छ ।