लोसपा प्रदेश दुुईको संसदीय दलको नेतामा जितेन्द्र सोनल – Madhesh Update

लोसपा प्रदेश दुुईको संसदीय दलको नेतामा जितेन्द्र सोनल

   September 28, 2021  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश दुुईको संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार राति जनकपुरमा मतदान प्रक्रियाबाट सोनल प्रदेश दुुईको लोसपा संसदीय दलको नेतामा चयन भएका हुन् । सोनलले अर्का प्रत्यासी उपेन्द्र महतोलाई हराउँदै दलको नेतामा निर्वाचित भएका लोसपा पार्टी कार्यालयले जनाएको छ ।

लोसपाको प्रदेश दुुईमा १६ जना सासंद छन् । जसमध्ये सोनलको पक्षमा ९ र महतोको पक्षको ६ मत आएको छ। एक मत भने बदर भएको थियो ।

सोमबार नै लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित नेताको उपस्थितिमा बसेको बैठकले प्रदेश दुुईको दलको विधान पनि पारित गरेको थियो ।

विधान पारित भएलगत्तै दलको नेतामा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत दलको नेता चयन गरिएको हो ।

सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए । उनी प्रदेश सरकारमा पनि सहभागी थिए ।

उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले उनलाई सरकारबाट हटाएका थिए ।

सभामुखलाई जानकारी

प्रदेश २ का सभामुख सरोज कुमार यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ संसदीय दलको नेता चयनबारे औपचारिक रुपमा जानकारी गराइएको छ । मंगलबार लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले संसदीय दलको नेता चयनबारेको औपचारिक पत्र सभामुख यादवलाई बुझाएका हुन् ।

सोनल सोमबार संसदीय दलको बैठकबाट निर्वाचन प्रक्रियामार्फत लोसपाको प्रदेश २ संसदीय दलको नेता चयन भएका थिए । प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षको भूमिकामा रहने भएको छ । जसपा नेपाल नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेको छ भने १६ सांसद रहेको लोसपा प्रमुख प्रतिपक्ष र ८ सांसदमा सीमित भएको नेकपा एमालेले विपक्षी भूमिका निर्वाह गर्ने भएको छ ।