जनकपुरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो

स्थानियहरु द्धारा टिपरमा आगजनी
जनकपुरमा सवारी दुर्घटना भएको छ । पीडारीचोकस्थित टिपर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक भारतको विहार राज्य निवासी ४० वर्षीय आनन्द किशोर दासको ज्यान गएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । घटना आइतवाार दिउँसोको हो । जकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ७ ख ४७४८ नम्बरको टिपर र विपरीत दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाकइल गलत साइडबाट तिब्र गतिमा चलाएकाले दुर्घटना भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिएको टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपरको पाङ्ग्रा, सिसा र क्याबिनको भाग जलेर नष्ट भएको छ । मोटरसाइकलमा ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए ।
‘आगजनी गर्ने व्यक्तिको खोजतलास हामी गर्दैछौँ । कानुनी दायरमा ल्याइ कडा कारबाही गर्छौ,’ उनले थपे ।