प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्ने

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधित्व गरेको दल जसपा नेपाल विभाजन भइसकेको छ । तर, मुख्यमन्त्री राउतले कहिलेसम्म विश्वासको मत लिने भन्नेबारे अन्योल देखिएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जसपा नेपालबाट अलग हुनका लागि महन्थ ठाकुरले भदौ २ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । भदौ ९ गते सनाखत भएपछि त्यही दिन उनले नयाँ दल दर्ताको प्रमाणपत्र पाएका थिए । केन्द्रमा भदौ ९ गते नै दल विभाजन भए पनि प्रदेश २ प्रदेशसभामा प्रतिनिधित्व गर्ने जसपा नेपालका सांसद र स्थानीय तहका जनप्रतिनिधिका लागि नयाँ दलमा सामेल हुन आयोगले भदौ २२ गतेसम्म सनाखतका लागि समय दिएको थियो । सोही आधारमा आयोगले भदौ २५ गते प्रदेशसभा सचिवालयलाई लोसपा संसदीय दल गठनसम्बन्धी जानकारीसहितको पत्र पठाएको थियो ।
दल विभाजन प्रक्रियाका सम्बन्धमा कुन मितिलाई आधार मान्ने भन्नेबारे अन्योल देखिएकाले मुख्यमन्त्री राउतले कहिलेसम्ममा विश्वासको मत लिनुपर्ने हो भन्नेबारे टुङ्गो लाग्न सकेको छैन । विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा आफूले कानुनी परामर्श लिइरहेको मुख्यमन्त्री राउत बताउँछन् । दल विभाजनका बाबजुद प्रदेश सरकारसँग प्रदेशसभामा दुई तिहाइभन्दा बढी छ । जसपा नेतृत्वको सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल छन् । नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सामेल हुने तरखरमा छ ।
१०४ सदस्यीय प्रदेशसभामा जसपाका ३९, काँग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का १३, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी जम्मा ८० जना सांसदले मुख्यमन्त्री राउतलाई समर्थन गरेका छन् । गठबन्धनको सरकार भएका कारणले मुख्यमन्त्री राउतलाई बहुमत जुटाउन समस्या नहुने मात्र होइन, उनको पक्षमा दुई तिहाइभन्दा बढी मत देखिन्छ ।