जनकपुरमा विद्यार्थीसँग पूर्वयुवराज्ञी हिमानीको अन्तरक्रिया – Madhesh Update

जनकपुरमा विद्यार्थीसँग पूर्वयुवराज्ञी हिमानीको अन्तरक्रिया

   September 20, 2021  

पूर्वयुवराज्ञी हिमानी शाहले छात्राहरुलाई राहत सामग्री वितरण गरेकी छन्। सोमबार पूर्वयुवराज्ञी शाहले जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन् । सो क्रममा शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया गरिन् । सो अन्तरक्रियामा शाहले स्कुल समयमा छात्राका समस्याहरुको बारेमा बुझ्ने प्रयास गरेकी थिइन्।

पूर्व युवराज्ञी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् । पूजा आराधनाका लागि विशेष प्रबन्ध मिलाइएको थियो ।

आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् । उक्त बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने ट्रस्टको प्रतिनिधि उत्तम निरौलाले बताए ।

यसै क्रममा, हिमानीले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया गरिन् । साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गरिन् । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधिन् ।