हुलाकी सडक परियोजना वारेमा नेपाल र भारतद्वारा समीक्षा – Madhesh Update

हुलाकी सडक परियोजना वारेमा नेपाल र भारतद्वारा समीक्षा

   September 16, 2021  

नेपालको तराई क्षेत्र को सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ । भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव श्री केशव कुमार शर्माको सह–अध्यक्षतामा उक्त बैठकको आयोजना गरिएको थियो ।

बैठकमा भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरिएको थियो । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासिल गरेको उपलब्धि उपर सन्तुष्टि व्यक्त दुवै पक्षले गरेका थिए ।

दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताए ।

नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडकहरु (१४ वटा प्याकेज÷ठेक्कामा विभाजित) को निर्माण हेतु भारत सरकारले सन् २०१६ मा नेरु ८०० करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको थियो । यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ ।

गत चैत्र १८ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाली जनतालाई हस्तान्तरण गरेका थिए ।

विहिवार भएको दुवै पक्षको बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाल लगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको सराहना गरेका थिए भने भारत सरकारले पनि दुई देशबीच सम्पर्क बढाउन नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । समितिको अर्को बैठक दुवै पक्षको आपसी समझदारीमा गरिने पनि बैठक पश्चत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।