मानव विकास सूचकांकमा प्रदेश २ सबै भन्दा खराब अवस्थामा

मानव विकास सूचकांकमा सात प्रदेशमध्ये सबभन्दा तल प्रदेश नम्बर २ पुगेको छ । राष्ट्रिय योजना आयोगले हालसालै गरेको अध्ययनको प्रतिवेदनअनुसार सबभन्दा तल (खराब अवस्था) प्रदेश नम्बर २ पुगेको हो ।
सन् २०२० मा गरिएको उक्त अध्ययनको प्रतिवेदन कोभिड महामारीका कारण केही दिन अघि मात्र प्रकाशित गरिएको हो ।
प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा सात प्रदेशमध्ये सबभन्दा अग्रस्थानमा बागमती प्रदेश छ । गण्डकी दोस्रो, प्रदेश १ तेस्रो, लुम्बिनी चौथो, सुदूरपश्चिम पाँचौं, कर्णाली छैटौं र प्रदेश २ सातौँ स्थानमा छ ।
यसअघि कर्णाली प्रदेश सातौँ स्थानमा, सुदूरपश्चिम प्रदेश छैटौं र प्रदेश २ पाँचौं स्थानमा थियो । तर, अहिले मानव विकास सूचकांकमा प्रदेश २ को अवस्था सबभन्दा खराब रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको ०.५४७, कर्णालीको ०.५३८, लुम्बिनीको ०.५६३, गण्डकीको ०.६१८, बागमतीको ०.६६१, प्रदेश २ को ०.५१ र प्रदेश १ को ०.५८ अंक छ ।
मानव विकास सूचकांकको राष्ट्रियस्तरमा क्रमशः सुधार हुँदै गए पनि प्रदेशस्तरीय सूचकांकमा भने ठूलो खाडल देखिएको छ ।
मानव विकास सूचकांकको अध्ययन गर्ने कार्यका टिम लिडर डिल्लीराज खनालका अनुसार शिक्षा, स्वास्थ्य, असमानता, प्रति व्यक्ति आय, औसत आयुका साथ साथै पछिल्लो बेसलाइन तथ्यांकको आधारमा गरिएको अध्ययनबाट उक्त तथ्यांक निकालिएको हो ।
अन्य प्रदेशमध्ये प्रदेश २ मा सबभन्दा कम शिक्षा, सबभन्दा कम आम्दानी, कम औसत आयु, जन्मिँदाको कम औसत आयु लगायतका सूचक देखिएको छ, खनालले भने ।
नेपालको राष्ट्रियस्तरमा भने मानव विकास सूचकांकको अवस्था पछिल्लो ३० वर्षमा क्रमशः सुधार हुँदै गएको छ ।
सन् १९९० मा ०.३७८, १९९५ मा ०.४१, २००० मा ०.४४६, २००५ मा ०.४७५, २०१० मा ०.५२९, २०१५ मा ०.५६६, २०१६ मा ०.५६९, २०१७ मा ०.५७४, २०१८ मा ०.५७९ र २०१९ मा ०.५८७ अंक छ ।