प्रादेशिक संरचना वारेमा उपेन्द्र यादवले भने – गलत भएको छ । – Madhesh Update

प्रादेशिक संरचना वारेमा उपेन्द्र यादवले भने – गलत भएको छ ।

   August 29, 2021  

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको प्रादशिक संरचना गलत भएको जिकिर गरेका छन । भैरहवामा आइतवार जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले तराई मधेशलाई पहाड संग जोडेर बनाइएको प्रादेशिक संरचना अव्यहवारिक रहेको पनि दाबी गरे ।

संविधानमा समस्यामा रहेको भन्दै यादवले त्रुुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्ने बताए । सात प्रदेशको संरचना बदल्नुपर्छ,’ उनले भने । राज्य पुनर्संरचना सच्याउन आवश्यक रहेको भन्दै उनले तराई र पहाडका जिल्लालाई मिसाएर प्रदेश बनाइएकाले नै समस्या भएको बताए ।

सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अगाडि भने, ‘पहाडका साथीहरुले बोल्दा मधेसका साथीहरुलाई भाषण बुझ्न गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो ।’

अध्यक्ष यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा राखे । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।