दल दर्ता पश्चात रणनिती बनाउदै लोकतान्त्रिक समाजवादी पार्टी – Madhesh Update

दल दर्ता पश्चात रणनिती बनाउदै लोकतान्त्रिक समाजवादी पार्टी

   August 26, 2021  

निर्वाचन आयोगबाट दल दर्ता भएको भोलिपल्ट अर्थात बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारणी समिति बैठक बसेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा नयाँ दल बनेपछि कसरी अगाडि बढ्ने भन्ने रणनिती तय गर्न बैठक बसेको हो ।

जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा हिजो बुधबार मात्रै लोसपा नेपाल दल दर्ता भएको हो । लोसपाको कार्यकारिणी समिति सदस्यमा अहिले ३३ जना छन् ।

कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बैठकमा पार्टीले राष्टिय राजनीतिको सन्दर्भमा लिने रणनीतिदेखि संगठन र प्रदेश दुुईमा कसरी अगाडि बढ्ने भन्नेमा अहिले छलफल शुुरु भएको छ ।

यसअघि, जसपा अध्यक्ष उपेन्द्र यादवसँग मतभेद बढेपछि प्रदेश दुुईको सरकारबाट यो पक्षका नेताहरु बाहिरिएका थिए । अहिले केन्द्र तथा प्रदेशमा लोसपा सरकारविहीन अवस्थामा रहेको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा पनि छलफल भएको छ ।

बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा छलफल भएको बताए । आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल शुरु भएको उनले जानकारी दिए ।

‘दल दर्तापछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ । स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरुको लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो काम शुरु भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा स्वघोषणा गराउने तयारी हुँदैछ ।’