सामुहिक रुपमा कर्मचारी र जनप्रतिनिघीहरु भ्रमणमा गएपछि महोत्तरीको बलवा नगरपालिकाको सबै सेवा ठप्प – Madhesh Update

सामुहिक रुपमा कर्मचारी र जनप्रतिनिघीहरु भ्रमणमा गएपछि महोत्तरीको बलवा नगरपालिकाको सबै सेवा ठप्प

   August 16, 2021  

महोत्तरीको एक स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीहरु भ्रमणमा गएपछि पालिकाको कामकाज ठप्प भएको छ । महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोदकुमार यादवदेखि कार्यालय सहयोगीसहित ६० जना जनप्रतिनिधि तथा कर्मचारीहरु ५ दिनदेखि देशव्यापी भ्रमणमा निस्केका छन् ।

बलवा नगरपालिकाको ११ वटा वडामध्ये ८ वटा वडाका वडाअध्यक्ष, कार्यकारी सदस्यहरु, नगरप्रमुख विनोद यादव, नगर उपप्रमुख रितादेवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, ईन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत शत्रुधन ठाकुर, वडाअध्यक्षहरु वैद्यनाथ झा, दिनेश यादव, सोना उल्ला सेठ, राजकुमार यादवसहित ६० जना देशव्यापी भ्रमणमा निस्केका हुन् ।

रातु नदीले बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भइरहेको समयमा जनप्रतिनिधिहरु जनताको समस्यालाई बेवास्ता गरी भ्रमणमा गएका हुन् । नगरपालिकाको सेवा नै प्रभावित हुने गरी जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएकोमा स्थानीयवासीहरु आश्चर्यचकित भएको स्थानीयवासी अशोककुमार यादवले बताए ।

उनीहरु करिब एक सातादेखि पोखरा, बागलुङ, चितवन, रामपुर लगायतका स्थानको भ्रमणमा छन् । पालिकाबाट जम्बो टोली भ्रमणमा निस्किएपछि हाल नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प छ भने सेवाग्राहीहरुको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।

नगर प्रमुख विनोद कुमार यादवले निर्वाचित भएको करिब ४ वर्षदेखि आफुहरु कतै नगएको भन्दै यसपाली मौका मिलाएर भ्रमणमा निस्केको बताए । उनले भने, ‘अहिले सेवाग्राहीको कामकाजमा केही समस्याजस्तो देखिए पनि हामी फर्किएपछि पुनः कामकाज नियमित रुपमा हुने नै छ ।’